छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित

Posted on: 19 Feb, 2018

फागुन ७, इलाम | जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् । 

जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ । 

विगतमा व्यवसायीलाई माग पूरा गर्न धौ धौ पर्ने गरेको थियो । विगतमा प्रतिकिलो रु एक हजारमा बिक्र हुँदै आएको छुर्पीको मूल्य अहिले रु ७०० मा झरेको सन्दकपुर गाउँपालिका–४ माबुस्थित बालकृष्ण कृषि फार्मका सञ्चालक बालकृष्ण गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “लगानी डुब्ने डरले छुर्पीको उत्पादन कम गर्न थालेको छु ।” संकलन गरेर लगेको छुर्पीको रु पाँच लाख रकम नपाएपछि पाँच बोरा छुर्पी गोदाममा नै थन्काएर राखेको उहाँको भनाइ छ । 

छुर्पीबाट मनग्य आम्दानी हुन थालेपछि उद्योगको संख्यामा वृद्धि भएको छ । बजारीकरणमा प्रतिष्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेका कारण समस्या भएको हो । अहिले विगतको जस्तो माग छैन । एकदमै थोरैमात्र निकासी भइरहेको छ । 

राम्रोसँग छुर्पी नसुक्दा खोक्रो हुने, कुहिने, ढुसी आउने, कुकुरले खाँदा बिरामी हुनेजस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको बताइएको छ । इलामका छुर्पी अन्तर्राष्ट्रिय हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौँ, सिल्भर लिङ्क (आइएनसी) प्रालि कलेक्सन सेन्टर काठमाडौँ र एभरेष्ट प्रोडक्सन काठमाडौँलगायतबाट निकासी हुने गरेको छ । इलाममा ५६५ वटा दुग्धजन्य डेरी, चिज उद्योग घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलाममा दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!