ताप्लेजुङका आगलागीपीडितलाई आर्थिक सहयोग

Posted on: 20 Feb, 2018

फागुन ८, ताप्लेजुङ | आठराई त्रिवेणी गाउँपालिका–३ हाम्पाङका आगलागीपीडित तीन परिवारलाई यक्सो बृहत् एकता समाजले आर्थिक रकम संकलन गरी हस्तान्तरण गरेको छ । 

गत मंसिर १९ गते भएको आगलागीका कारण पूर्णरुपमा घर गुमाएका स्थानीयवासी देवमान यक्सो, रुपनारायण यक्सो र विकल्प यक्सोको परिवारलाई रु पाँच लाखभन्दा बढी आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो । 

सोमबार एक कार्यक्रमबीच प्रतिपरिवारलाई रु एक लाख ७२ हजार ६१० का दरले सहयोग रकम प्रदान गरिएको हो । उक्त सहयोग रकम संस्थाका अध्यक्ष हर्क यक्सो र संरक्षक लक्ष्मीबहादुर यक्सोले संयुक्त रुपमा बसोबासस्थलमा नै पुगेर हस्तान्तरण गर्नुभएको थियो । 

यक्सो बृहत् एकता समाज ताप्लेजुङको सक्रियतामा सुनसरी, मोरङ, विराटनगर र झापाबाट रु ५७ हजार, धरान हाङ्पाङ समाजबाट रु २५ हजार, सान्थाक्राबाट रु २० हजार, मलेसियाबाट रु ३३ हजार, कतारबाट रु १५ हजार, हाम्पाङबाट रु १८ हजार र हङ्कङबाट रु तीन लाख ४७ हजार संकलन गरिएको समाजले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!