काठमाडौँमा बसको चक्काले किचेर नुवाकोटका एक युवाको मृत्यु

Posted on: 21 Feb, 2018

फागुन ९, काठमाडौँ । काठमाडौँमा बसको चक्काले किचेर एक जनाको मृत्यु भएको छ । 

गए राति काठमाडौँको तार्केश्वर नगरपालिका–११ नेपालटारमा गुडिरहेको बसको चक्काले थिचेर मोटरसाइकल चालक नुवाकोट घर भई काभ्रेस्थली बस्ने २६ वर्षीय चन्द्रप्रकाश मोक्तानको मृत्यु भएको हो । 


मोक्तान नेपाल विद्यार्थी संघ एनआर कलेजका सचिवसमेत रहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो । 

बालाजु बाइपासबाट शेषमती आउँदै गरेको बा७९प २९८५ नंको पल्सर मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको बा३ख २६१३ नंको बसको चक्काले थिचेको थियो । 

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख विश्वराज खड्काले सडक पार गर्दै गरेको अवस्थामा पैदलयात्री बचाउने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको जानकारी दिनुभयो । दुर्घटनामा घाइते मोक्तानको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार खोटाङ घर भई बानियाँटार बस्ने २२ वर्षीय मिलन परियारको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!