मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा लोकवार्ता विज्ञान विषय पढाउने तयारी

Posted on: 23 Feb, 2018

फागुन ११, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आगामी शैक्षिक सत्रदेखि मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत लोकवार्ता विज्ञान विषय अध्यापन गराउने तयारी थालेको छ । वीरेन्द्रनगरमा शुक्रबारदेखि शुरु भएको लोकवार्ता विज्ञान अध्ययन अध्यापनको महत्व र औचित्य विषयक दुई दिने गोष्ठीमा बोल्दै मानविकी संकायका डिन खोपीराम लम्सालले यसका लागि तयारी भई रहेको जानकारी दिए ।

उनले मानविकी संकायतर्फ एमफीलका कार्यक्रम संचालन गर्न आधारहरु तयार गर्न र यो प्रदेशको भाषा, संस्कृति संरक्षणका लागि विश्वविद्यालयले गर्न सक्ने कामका लागि सुझाव सल्लाह संकलनका लागि गोष्ठी आयोजना गरेको बताए । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै ६ नम्बर प्रदेश प्रमुख दुर्गा केशर खनालले प्रदेशको समृद्धिसँग सम्बन्धित पाठ्यक्रम निर्माण गर्न आवश्यक रहेको बताए । उनले वन, विज्ञान, कला साहित्यको हिसाबले यो प्रदेश धनी भएकाले सोहीअनुसार व्यक्ति उत्पादन गर्ने कर्तव्य विश्वविद्यालयको भएको बताए ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्र मल्लले प्रदेशका सम्भावनालाई सदुपयोग गरी समृद्ध प्रदेश निर्माण गर्ने दक्ष जनशक्ति उत्पादनका लागि आफुहरुले मास्टर प्लान बनाएर मुख्यमन्त्री समक्ष पेश गर्ने तयारी गरेको पनि जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!