दैलेख दुर्घटनाको छानबिन गर्न समिति गठन

Posted on: 24 Feb, 2018

फागुन १२, सुर्खेत । ६ नं प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दैलेखमा भएको जिप दुर्घटनाको सत्य तथ्यको छानबिनको लागि समिति गठन गर्नुभएकोछ । 

मन्त्री भण्डारीले घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिहीबार साँझको दुर्घटनाबारे छानबिन गर्नका लागि आज एक समिति गठन गर्नुभएको हो । 


घटनाको सत्यतथ्य छानबिन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव भक्तबहादुर कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको कानूनमन्त्री भण्डारीले जानकारी दिनुभयो । 

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर वली, सडक डिभिजन कार्यालय सुर्खेतका प्रतिनिधि, यातायात कार्यालयका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय सर्खेतका प्रतिनिधि, ट्राफिक कार्यालयका प्रतिनिधि र मन्त्रालयका अधिकृत प्रतिनिधिलाई सदस्य तोकिएको छ । 

समितिले दुर्घटनाका कारण खोजी गरी त्यसको न्यूनीकरण गर्न मन्त्रालयमा सिफारिस सहितको प्रतिवेदन पेश गर्ने र त्यसैका आधारमा आवश्यककार्य गरिने बताइएको छ । 

बिहीबार साँझ दैलेखमा भएको जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने चारजना गम्भीर घाइते भएका थिए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!