प्रदेश ६ का मुख्यमन्त्रीको हातमा कुचो र बेल्चा

Posted on: 24 Feb, 2018

फागुन १२, सुर्खेत | प्रदेश ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगरमा विशेष सरसफाइ अभियान शुरु भएको छ । शनिबार बिहानै प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हातमा झाडु लिएर सडक सफाइ गर्दै सुर्खेत बजार विशेष सरसफाइ अभियान सुरु गरेका छन् । 

सरसफाइ अभियानमा सहभागी हुँदै मुख्यमन्त्री शाहीले कुनै पनि काम सानो ठूलो नहुने भन्दै हामीले आशा र कल्पना गरेको समृद्धि र विकसित प्रदेश निर्माण गर्नका लागि प्रत्येक व्यक्तिले श्रममा सहभागी हुनुपर्ने बताए । 

हरेक व्यक्तिले अरुको कुरा काटेर वा आलोचना गरेर समय खेरफाल्नुभन्दा आ–आफ्नो जिम्मा र भूमिकालाई इमान्दारिका साथ निर्वाह गरे देश धेरै हदसम्म सफल हुने मुख्यमन्त्रीको भनाइ छ । मुख्यमन्त्री शाहीले प्रदेश ६ को राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर बजारलाई हरित बजारको रुपमा विकास गरिने बताए । 


सुर्खेतको मुख्य बजारमा रहेको मंगलगढी चोकमा मुख्यमन्त्री, मन्त्री, सरकारी निकायका कर्मचारी, सुरक्षा निकायका टोलीसहित स्थानीय तहका जनप्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु र सर्वसाधारणहरु सहभागी रहेको थियो । 

सरसफाइ अभियान प्रदेश ६ को राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुचारु भएको हो । बजार एवं सहर व्यवस्थापन अभियान २०७४ अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाले विशेष सरसफाइ कार्यक्रम सुरु गरिएको हो । त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित ढंगले राखिएका फुटपाथ व्यापार शनिबारदेखि आफैँ उठाउन सुरु गरेको छ । 

नगरपालिकाले केही दिनअघि १५ दिनभित्र फुटपाथ हटाउन आग्रह गर्दै सूचना जारी गर्दा पनि फुटपाथ व्यापारीहरुले अटेर गरेपछि अब कडाइ गर्न लागिएको हो । ‘बजार एवं सहर व्यवस्थापन अभियान २०७४’ अन्तर्गत नगरपालिकाले अब फुटपाथ व्यापार गर्नेलाई जरिवानासमेत तिराउने नगरप्रमुख देवकुमार सुवेदीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!