चितवनको देवघाटमा मलामी विश्रामस्थल निर्मित

Posted on: 25 Feb, 2018

फागुन १३, चितवन | प्रमुख सेनानी सुरेन्द्र सापकोटा र उहाँकी धर्मपत्नी लक्ष्मीले देवघाटमा मलामी विश्रामस्थल निर्माण गर्नुभएको छ । 


भरतपुरस्थित दी फेमस महेन्द्र दल गणका गणपति सापकोटाले आफ्ना मातापिताका नाममा रहेको दिलबहादुर–जसुदा फाउण्डेशनबाट निजी खर्चमा बनाएको विश्रामस्थल आज उद्घाटन गरिएको छ । सो अवसरमा प्रमुख सेनानी सापकोटाले मलामी आएका व्यक्ति पानी पर्दा र चर्को घाम लाग्दा ओत लाग्न कठिन भएको देखेपछि विश्रामस्थल निर्माण गरिएको बताउनुभयो । 

रु चार लाख खर्च गरेर एक महिनामा सिमेन्टको पिलर र टिनको ट्रसबाट बनाइएको विश्रामस्थलमा करीब १०० मलामी बस्न मिल्छ । देवघाट क्षेत्र विकास समितिको गुरुयोजनाअन्तर्गत थप व्यवस्थित गर्नुपरेमा आवश्यक काम फाउण्डेशनका तर्फबाट गरिने उहाँले बताउनुभयो । फाउण्डेशन तनहुँको दमौलीमा स्थापना गरिएको हो । 

देवघाटमा चितवनसहित छिमेकी जिल्लाबाट शव दहनका लागि ल्याइन्छ । देवघाटमा व्यापार व्यवसाय गर्दै आउनुभएका समाजसेवी रत्नलाल शर्मा कँडेलले एक दिनमा करीब ३५ शव दहनका लागि ल्याइने गरेको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!