खोटाङमा तीनजनाको झुन्डिएको अवस्थामा लास फेला

Posted on: 26 Feb, 2018

चिसाङ शेर्पा | फागुन १४, खोटाङ | खोटाङको विभिन्न स्थानमा एकै दिनमा तीनजनाको लास फेला परेको छ । रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित ५० बर्षिय तीर्थ कुमारी राईको घरबाट अन्दाजी २५ मिटर दक्षिणमा बडहरको रुखमा झुण्डिएको अवस्थामा लास भेटिएको हो । स्वेच्छा अनुरुप आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतकको शब पोष्टमार्टमका लागि सदरमुकाम दिक्तेल अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

यस्तै, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको च्यानडाडाँका स्थानिय बासिन्दा नैन बहादुर राउतको ३४ बर्षिय छोरा देबी बहादुर राउत पनि मृत अवस्थामा फेला परेका छन् । च्यानडाडाँ जंगलमा चिलाउनेको रुखमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा सोमबार बिहान १० बजे लास फेला परेको थियो । मृतकको लास पोष्टमार्टमका लागि उदयपुरको गाईघाट लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।

यसैगरी, खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा २८ बर्षिय रिना राई आईतबार राती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । राई घरको कोठाको बासको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी स्थानिय बसन्त राईको श्रीमती हुन् । मृतक राईको शब पोष्टमार्टमका लागि उदयपुरको गाईघाट लगिएको छ ।

श्रृङखलाबद्ध रुपमा भेटिएको लासहरुको प्रकृति हेर्दा तीनैजनाले स्वेच्छा आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!