खोटाङको बंसिलाघाट–चिसापानी मोटरबाटो सञ्चालनमा

Posted on: 28 Feb, 2018

चिसाङ शेर्पा/फागुन १६, खोटाङ | जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बंसिलाघाट–चिसापानी मोटरबाटो सञ्चालनमा आएको छ ।


बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीसम्मको २५ किलोमिटर मोटरबाटो मंगलबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेपछी सञ्चालनमा आएको हो ।

तत्कालिन गाउँ बिकास समितिको पहल र नेपाल सरकारको अर्थ मन्त्रालयबाट बिनियोजित ५ करोड लागतमा तीन बर्ष अगाडी निर्माण सकिएको कच्ची सडकलाई पुनः मर्मत गरेर सञ्चालनमा ल्याईएको हो । 

बराहपोखरी गाउँपालिकाको पौवासेराबाट जन्तेढुंगा गाउँपालिका–५ चिसापानीसम्म आईपुग्ने मोटरबाटो तीनबर्ष अगाडी निर्माण सकिए लगत्तै सञ्चालनमा आउनुपर्ने भए पनि सडकको दायाबायाँमा ढिस्को तथा पहिरो खसेर बिग्रको थियो । पहिरो तथा ढिस्कोले बिगारेको सडकलाई गाउँपालिकाको २० लाख बजेटमा मर्मत गरेर सञ्चालनमा ल्याईएको बराहपोखरी गाउँपालिकाकी उप–प्रमुख गोमा मगरले जानकारी दिनुभयो । 

उद्घाटनसँगै यात्रुबहाक सवारी साधन, ट्याक्सी, ट्याक्टरजस्ता सवारी साधन चल्न थालेको छ । सडक सञ्चालनमा आएपछी स्थानिय बासिन्दालाई दैनिक जनजिबनमा सहजता आएको छ । सञ्चालनमा आएको बराहपोखरी गाउँपालिका–५ पौवासेरादेखी जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको सडक कालोपत्रेका लागि सर्बे पनि भइसकेको गाउँपालिकाले जनाएको छ ।

कालोपत्रे गर्नका लागि सक्दो सहयोग गर्ने प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बिशाल भट्टराईले आश्वसन दिनुभएको छ । उद्घाटन कार्यक्रममा चौदण्डी नगरपालिका उदयपुरका मेयर खगेन्द्र राईको पनि उपस्थिती रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!