गाउँमै अपांगता परिचयपत्र वितरण

Posted on: 03 Mar, 2018

फागुन १९, त्रिशूली (नुवाकोट) (रासस) | महिला तथा बालबालिका कार्यालयले गाउँगाउँमा गएर अपांगता परिचयपत्र वितरण गर्न थालेको छ । 

कार्यालयले शिवपुरी गाउँपालिकाको सहकार्यमा शिवपुरी – ८, शेराबगरमा अपांगता परिचयपत्र वितरण शिविर सञ्चालन गरी परिचयपत्र वितरण गरेको हो । गाउँपालिकाको कार्यालयमा शुक्रबकार आयोजित शिविरमा १०४ जनालाई परिचय वितरण गरिएको महिला विकास अधिकृत भुला भण्डारीले जानकारी दिनुभयो । 

परिचय वितरणका लागि चिकित्सक सहितको टोली गाउँपालिकामा पुगेको थियो । शिविरमा १९ जनालाई रातो , ३७ जनालाई नीलो , २६ जनालाई पहेंलो र र २२ जनालाई सेतो परिचयपत्र उपलब्ध गराइएको थियो । परिचयपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले अपांगतायुक्त व्यक्तिलाई सदरमुकामसम्म लैजान समस्या हुने भएकाले गाउँपालिकामा नै शिविर सञ्चालन गरिएको बताउनुभयो । 

गाउँपालिकाका प्रत्येक वडाबाट गाउँपालिकाको कार्यालयसम्म उनीहरुलाई ल्याउनका लागि स्थानीय संघसस्ंथाले सवारीसाधनको व्यवस्था गरेका थिए । यसअघि कार्यालयले दुप्चेश्वर गाउँपालिकामा पनि अपांगता परिचयपत्र वितरण शिविर सञ्चालन गरेको थियो । रातो परिचयपत्र प्राप्त गर्ने पूर्ण अपांगता भएकाहरुले सामाजिक सुरक्षा भत्तासमेत पाउँछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!