नुवाकोटमा बिदाको सदुपयोग गर्दै डा. केसी, उपचारमा व्यस्त

Posted on: 04 Mar, 2018

फागुन २०, त्रिशूली (रासस) | फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त हुनु भएको छ । डा केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको उपचारमा स्वास्थ्य शिविरमा संलग्न हुनुभएको हो । 

पञ्चकन्या गाउँपालिका–१ आपचौरमा शुक्रबार १५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्नुभएका डा केसी शनिबार लिखु गाउँपालिका–४ चौघडामा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्नमा व्यस्त हुनुभएको छ । चौघडा स्वास्थ्य चौकीमा डा केसीले २०७ जना स्थानीयवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्यसम्बन्धी परामर्श र औषधि वितरण गर्नुभएको स्थानीयवासी शान्तिकुञ्ज एकेडेमीका अध्यक्ष मधु अधिकारीले जानकारी दिनुभयो । 

डा केसी आफ्ना दुई जना सहयोगीका साथमा व्यक्तिगत खर्चमा केही औषधि खरिद गरी तथा केही औषधि कम्पनीबाट सहयोग जुटाएर नुवाकोट आउनुभएको हो । उहाँले बिहीबार फागू पूर्णिमाको बिदा र लगत्तै शनिबार पनि भएकाले यो बिदालाई सदुपयोग गर्न आएको बताउनुभयो । डा केसी भूकम्पपछि सोही महिनाको अन्तिम साता स्वास्थ्य शिविर चलाउन यो क्षेत्रमा आउनुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!