खोटाङ: आगोलागीमा परी घाईते भएकी रत्नमायाको मृत्यु

Posted on: 04 Mar, 2018

चिसाङ शेर्पा/फागुन २०, खोटाङ | आगोलागीमा परी शक्क्त घाईते भएकी ४५ बर्षिय रत्नमाया सार्कीको ज्यान गएको छ ।

रावाबेंशी गाउँपालिका–३ लामिडाडाँ भञ्ज्याङकी स्थानिय वासिन्दा सार्कीको शनिबार काठमाण्डौबाट घर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार उकालोमा ज्यान गएको हो । गएको फागुन–९ गते बिहान आफ्नै घरमा भएको आगोलागीमा परी घाँटी र नाईटोमुनीको भाग अत्याधिक जलेपछि किर्तीपुर अस्पताल काठमाण्डौमा उपचारगरी घर फर्किएका उनको एम्बुलेन्सभित्र ज्यान गएको हो ।

एघार दिनसम्म अपरेशन तथा विभिन्न उपचार गर्दा बिरामीमा सन्तोषजनक सुधार नआएको भतिजा एकराज सार्कीले बताउनुभयो । जलेर थल्लिएकी बिरामी दुईदिन अघिबाट बोल्न छोडेकी थिईन । उनले भने ‘स्वंयम बिरामीले हातको ईशारामा घर जान्छु भनेपछि घर ल्याईएको हो । घर नपुगी संसार त्यागिन ।’

सार्कीको श्रीमान र पाच छोरा र दुई छोरी रहेका छन् । काठ चिर्ने मेसिनमा पेट्रोल हालिरहेको समयमा नजिकै केटाकेटीले लाइटर बाल्दा सुरु भएको आगलागीमा धनबहादुरकी ४५ वर्षीय श्रीमती रत्नमायाँसहित सुन, चाँदी, नगद लगायत जल्दा १२ लाख बराबरको क्षती भएको थियो ।

उता, कतारबाट अग्नि पिडित परिवारलाई ३६ हजार ८६ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । आगलागीमा सर्वस्व गुमाएका पिडित परिवारलाई रोजगारीको सिलसिलामा कतारमा रहेका १५ जना लामिडाडाँबासी युवाहरुको सहयोगमा संकलित रकम पठाईएको कतारमा कार्यरत रावाबेंशी गाउँपालिका–३ लामिडाडाँका बिनोद बिशङखेले जानकारी दिनुभयो । यसअघि, खोटाङ समाज हङकङले स्थापना गरेको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले छ हजार रुपैयाँ सहयोग गरेको थियो । सहयोग रकम काजक्रिया र छोराछोरीको लालनपोषणमा सदुपयोग गरिने परिवारले जनाएको छ ।  



यस बिषयमा तपाइको प्रतिक्रिया...!