नुवाकोट: आगलागीमा परी एक घाइते, ७ लाख बराबरको क्षति

Posted on: 05 Mar, 2018

फागुन २१, नुवाकोट | लिखु गाउँपालिका–४ चौघडामा आज आगलागी हुँदा एकजना घाइते भएका छन् । आगलागीमा परी रु सात लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

नेपाली सेनामा कार्यरत क्याप्टेन प्रल्हाद थापाको घरमा बिहान आगलागी हुँदा उहाँका भाइ ३० वर्षीय प्रदीप थापाको शरीरको चोट लागेको छ र घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । 

आगलागीबाट ढुँगामाटोले बनाएको घर पूर्णरुपमा जलेर नष्ट हुँदा एक थान स्कुटर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै नष्ट भएको प्रहरी चौकी ढिकुरेका इञ्चार्ज प्रनानि टेकबहादुर पालले जानकारी दिनुभयो । 

बिहान उज्यालो हुनुअघि घटना भएका कारण इबीमा आगो लगाइदिएको हुनसक्ने भन्दै छानबिनका लागि पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । 

घटनाको जानकारी बिहान अबेर मात्र प्राप्त भएको र आगो लाग्नुको कारण समेत शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!