पहिलो किस्ता ५० हजार लिएर पनि घर नबनाउनेलाइ यस्तो सजाय गरिने

Posted on: 07 Mar, 2018

फागुन २३, काठमाडौं । सरकारले दिएको अनुदानको हिलो किस्ता ५० हजार  लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कालोसूचीमा राखी कारवाही गर्ने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको ४२औं बैठकले सरकारले दिने अनुदानको पहिलो किस्तावापतको ५० हजार रुपैयाँ लिएर पनि घर नबनाउनेहरुलाई कारवाही गर्ने निष्कर्ष निकालेको छ ।

‘झुण्ठो विवरण पेश गरी रकम लिने र घर बनाउने सुरसार नै नगरेकाले उनीहरुलाई दण्डात्मक व्यवस्था गर्न लागेका हौं, हामी पनि पहिले गोरखापत्रमा सूचना निकालेर सचेत गराउँछौं ।

पछि कानुनअनुसार रकम फिर्ता गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही हुनेछ’ – प्राधिकरणका सह–प्रवक्ता भीष्मकुमार भूसालले बताए ।

कालोसूचीमा परेकाले सरकारले उपलब्ध गराउने नागरिकता, पासपोर्ट लगायतका कागजात नपाउनुका साथै अन्य नागरिक अधिकारबाट बञ्चित हुने र बैंकको समेत कालोसूचीमा पर्ने उनले बताए ।

प्राधिकरणले गत फागुन ३० गतेबाट भूकम्पपीडितलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ दिन थालेको हो ।

साउन र भदौ महिनामा गरी झण्डै साढे चार लाखले पहिलो किस्ताको पचास हजार पाएका भएपनि माघ तेस्रो सातासम्म दोस्रो किस्ता माग गर्नेहरु हजारको हाराहारीमा मात्रै रहेकाले राज्यको पैसा लिएर घर नबनाउने नियत देखिएको उनले बताएका छन् ।

माघ २३ सम्म उपत्यकाका तीन सहित १४ जिल्लाका ५ लाख १० हजार १ सय ३० जनाले पहिलो किस्ताको रकम लिइसकेका छन्।

प्राधिकरणले दोस्रो किस्ताका लागि १२ अर्ब रुपैयाँ सम्बन्धित जिल्ला विकास समितिमा पठाइसकेको छ। अहिलेसम्म करिब २७ हजार घर निर्माणाधीन रहेको तथ्यांक प्राधिकरणसँग आइपुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!