संखुवासभामा खानेपानीको हाहाकार

Posted on: 07 May, 2016

योगेन्द्र योगी/वैशाख २५ , संखुवासभा । पिउने पानीको संकट भोगिरहेका धुपु गाविसका बासिन्दाहरुमा लामो खडेरीका कारण पानीको मुहान सुकेपछि झनै समस्या भएको छ ।

पिउने पानीको अभावमा धुपुका बासिन्दाहरु काकाकुल बनेकाछन् । हरेक वर्षको गर्मी याममा सो क्षेत्रका बासिन्दाहरुले पिउने पानीको समस्या भोग्दै आएकाछन तर स्थायी समाधानकालागि सरोकारवाला निकायले कुनै चाँसो नदिएको धुपुका स्थानीय बासिन्दा वीर बहादुर योगीले बताए ।

दलित र जनजातिहरुको बसोवास रहेको सो वस्तीको समस्याका बारेमा सरोकारवाला निकाय समेत बेखवर रहेको देख्दा आफूहरु दुःखी भएको एक स्थानीयले बताए । पिउने पानीको खोजीमा स्थानीयहरु भौतारिनुपर्ने बाद्यता रहेको छ ।

तर त्यसको समाधानको दीर्घकालिन समाधानका बारेमा कसैले पनि सोचिदिएनन् अर्का स्थानीय बासिन्दा दल बहादुर योगीले बताए । पानीकै अभावमा घरघरमा निर्माण गरेका शौचालयहरु प्रयोगविहीन अवस्थामा पुगेकाछन् । २०७२ चैतमा सो क्षेत्र खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो ।

तर अहिले पानीको अभावका कारण शौचालय प्रयोगमा ल्याउन समस्या हुने गरेको स्थानीयको भनाई छ । अहिले स्थानीयहरु शौचकालागि जंगल धाउनुपर्ने अवस्था रहेको उनीहरुको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!