बैतडीको स्थानीय तहमा बैंक स्थापना हुन सकेन

Posted on: 13 Mar, 2018

फागुन २९, बैतडी | जिल्लाका छ वटा स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । 

बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रका नागरिक सदरमुकाम धाउन बाध्य छन् । सिगास, शिवनाथ, पञ्चेश्वर, दोगडाकेदार, डिलासैनी गाउँपालिका र मेलौली नगरपालिकामा कुनै पनि बैंकको शाखा स्थापना हुन नसक्दा त्यहाँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दा सदरमुकाम धाउन बाध्य भएका हुन् । 

सरकारले यसअघि नै स्थानीय तहमा विभिन्न बैंकका शाखा स्थापना गर्ने भने पनि बैंक नहुँदा सास्ती हुने गरेको कारोवार गर्न सदरमुकाम जान बाध्य भएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । 

स्थानीय तहले उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने योजनाको खाता सञ्चालनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता कायमै रहेको सिगास–४ का जसवीर साउदले बताउनुभयो । खाता खोल्नका लागि बढी पैसा खर्च हुने गरेको सिगास गाउँपालिका–४ की सारथी धामी बताउनुहुन्छ । 

गत साउनमै स्थानीय तहमा बैंक स्थापना हुने भनिए पनि यहाँका स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । स्थानीय तहमा बैंक नहुँदा गाउँपालिकाले गर्ने हरेक काममा समस्या भएको सिगास गाउँपालिकाका इन्जिनियर मनोज धामीले बताउनुभयो । बैंक नभएका कारण कारोवारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सास्ती भएको छ । 

सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी बैंकको कामका लागि दुई दिन पैदल हिँडेर सदरमुकाम जान बाध्य भएको बताउनुहुन्छ । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकाममा रहेका बैंकमा खोलिएको छ । 

यस्तै, खाता खोल्नका लागि उपभोक्ता समितिका पदाधिकारीलाई सदरमुकाम पठाउनुपर्ने बाध्यता रहेको शिवनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज भट्टले बताउनुभयो । 

पुर्चौडी नगरपालिकामा एक महिना अगाडिमात्रै ग्लोबल आइएमई बैंकको शाखा स्थापना गरिएको छ भने एक हप्ता अगाडिमात्रै सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा स्थापना गरिएको छ । सदरमुकाममा रहेको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा विभिन्न बैंकका शाखा छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!