पर्वत: गाउँपालिका अध्यक्षको घरमा प्रेसरकुकर बम फेला

Posted on: 13 Mar, 2018

फागुन २९, पर्वत | जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको घरमा आज प्रेसरकुकर बम फेला परेको छ । 

कुश्मा नगरपालिका–१ स्थित सहस्रधारमा रहेको अध्यक्ष मल्लको बा१६च २५२६ नं को गाडीमुनि प्रेसरकुकर बम भेटिएको हो । गाडीको टायरमुनि प्लास्टिकभित्र पत्रिकाले बेरेर प्रेसरकुकर बम राखिएको थियो । 

उक्त बम नेपाली सेनाको रणदल गुल्म कुश्मा र नेपाली सेनाको २३ नं बाहिनी बागलुङको टोलीले निष्क्रिय पारेको छ । घर नजिकै रहेको कालीगण्डकी नदीको किनारमा लगेर सो बम निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो । 

राति राखिएको उक्त बम स्थानीयवासीले बिहान देखेका थिए । गएराति नै कालीगण्डकी क्रसर उद्योगले भाडामा लिएको कुश्मा नगरपालिका–७ शिवबहादुर घर्तीको जेसिबीमा समेत आगजनी गरिएको छ । सहाना निर्माण सेवाको ग१क ३७३६ नं को जेसिबीमा आगजनी भएको प्रहरीले जनाएको छ । गाउँपालिकाका अध्यक्ष मल्ल सो उद्योगका सञ्चालक हुनुहुन्छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!