खोटाङ: बसपार्क बाहिर सवारी साधन राखे स्पटमै कारबाही

Posted on: 15 Mar, 2018

चिसाङ शेर्पा/चैत्र १ खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बसपार्क भन्दा बाहिर सवारी साधन पार्किङ गरे स्पटमै कारबाही गर्ने चेतावनी दिएको छ ।


 जिल्लामा तीन बसपार्क हुँदाहुँदै दिक्तेलका रत्नपार्क क्षेत्रमा बस तथा जीप पार्किङ गर्नेक्रम नरोकिएको भन्दै नगरपालिकाले जथाभाबी पार्किङमा कडाई गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको आचार्य गाउँ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको बसपार्कमा पार्किङ गर्नका लागि पटक–पटक गरेको आग्रहलाई बेवास्ता गरेको पाइएपछि नगरपालिकाले बुधबार ६ वटा बसको चाँबी खोसेको थियो । यातायात व्यवसायीलाई आचार्य गाउँ र सोल्मा बसपार्कमा बस तथा जीपलाई हाटडाँडामा पार्किङ गर्न भने पनि बेवास्ता गर्दै रत्नपार्क क्षेत्रमै सवारी साधन राख्ने गरिएकाले अन्तिम चेतावनी दिईएको मेयर दिपनारायण रिजाल बताए । 

सडकमा पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुको आवतजावतमा असर पु¥र्याएको तथा बजार अव्यवस्थित देखिएको भन्दै नगरपालिकाले पटक–पटक हरेक सवारी साधनलाई बसपार्कमा लैजान आग्रह गर्दैआएको छ । 

यस्तै, जिल्ला प्रशासन कार्यालय खोटाङले अस्थायी रुट पर्मिट लिएर मात्र सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको छ । गाईघाट–बुईपा–दिक्तेल–टेम्मा–पञ्चमी–खोटाङबजार सडक, दिक्तेल–कटारी–लहान–धरान, दिक्तेल–कटारी–लहान–इटहरी–बिराटनगर, कटारी–दिक्तेल–मात्तिम–खिदिमा, दिक्तेल–कटारी–काँकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–इटहरी–काकडभिट्टा, खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर र खोटाङबजार–रसुवाघाट–गाईघाट–लहान–बिराटनगर सडकमा रुट पर्मिट लिएर मात्र सवारी साधन चलाउन व्यवसायीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!