सिरहामा ९९३ हेक्टर वनक्षेत्रमा अतिक्रमण

Posted on: 16 Mar, 2018

चैत २, लहान | संक्रमणकालीन राजनीतिक अवस्थाका कारण सिरहाको ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको छ । 

जिल्ला वन कार्यालयका प्रमुख सुनिलकुमार सिंहले राजनीतिक संरक्षणको आडमा ९३३ हेक्टर सामुदायिक वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो । 

जिल्लामा रहेको कूल २१ हजार ४४ दशमलव ९ हेक्टर क्षेत्रफल वन क्षेत्रमध्ये ९९३ दशमलव १४ हेक्टर क्षेत्रफल सामुदायिक वनमा एक हजार १९८ वटा घर टहरा निर्माण भएको पाइएको उहाँले बताउनुभयो । 

अतिक्रणमा परेको सामुदायिक वन खाली गराउन प्रयास गरिए पनि राजनीतिक संरक्षणका कारण हटाउन समस्या भएको गुनासो गर्दै प्रमुख सिंहले राजनीतिक दल र स्थानीय प्रशासनबाट उचित सहयोग प्राप्त भए खाली गराइने बताउनुभयो । 

लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कर्जन्हा नगरपालिका अन्तर्गत सामुदायिक वन अतिक्रमण गरी वनक्षेत्रमा पक्की घरसमेत निर्माण भइरहेको छ । 

राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय प्रशासनका प्रमुखले वन तस्कर र अतिक्रणकारीलाई कुनै संरक्षण नदिने लिखित प्रतिबद्धता व्यक्त गर्दै अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन सहयोग गर्नेमा जोड दिए । 

इलाका प्रशासन कार्यालय लहानमा प्रमुख सोमप्रसाद भट्टराईले अतिक्रमणमा परेको सामुदायिक वन क्षेत्रको यकिन गरी तत्काल वन क्षेत्र खाली गराउन प्रशासनको तर्फबाट भरपुर सहयोग गर्ने बताउनुभयो । अतिक्रमणमा परेको वन क्षेत्र खाली गराउन र अतिक्रमणकारीलाई कानूनी दायरामा ल्याउन ठोस् कदम चाल्न वन कार्यालयसँग उहाँले आग्रह समेत गर्नुभयो । 

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राजपालगायतका राजनीतिक दलका प्रतिनिधिले वन क्षेत्रमा बढ्दो अतिक्रमण र चोरी तस्करी रोक्न आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता जनाएका थिए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!