अपिहिमालको गाउँसभाले गर्यो अपि स्वयंसेवक दस्ता गठनको निर्णय

Posted on: 18 Mar, 2018

लोकेन्द्र प्रशाद जोशी | चैत ४, दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकाको हिउँदे अधिवेशनबाट स्थानीय सरकार सञ्चालन ऐनहरु धमाधम पारित हुदैछ । गाउँपालिकाको अद्र्दबार्षिक समीक्षा गर्दै चैत्र २ गतेबाट शुरु भएको हिउँदे अधिवेशनबाट गाउँपालिकाले ऐनहरु पारित शुरु गरेको हो । यस आर्थिक वर्षमा कार्यान्वयनमा रहेका योजनाहरुको समीक्षा गर्दा पालिकाले हालसम्म ६० प्रतिशत बढि योजना कार्यान्वयन गरिसकेको गाउँपालिका अध्यक्ष धर्मानन्दसिह मन्यालले बताउनुभयो ।

आइतबार भएको गाउँपालिका सभाले स्थानीय सरकार सञ्चालन ऐन अन्तर्गत रहेर स्थानीय शिक्षा ऐन २०७४ लाई सर्वसम्मत पारित गरेको छ । ऐनले अब पाँच वर्षभित्र शिक्षकहरुको सरुवा गर्ने, गाउँपालिका भित्र शिक्षा क्षेत्र हेर्ने गरी शिक्षा अधिकारी राख्ने लगायतका महत्वपूर्ण ऐन पारित गरेको छ ।

शिक्षा ऐनले गाउँपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समिति विघटन गरेको छ भने ऐन पारित भएको ४५ दिन भित्र नयाँ व्यवस्थापन समिति गठन गरिसक्नुपर्ने उल्लेख गरिएको अध्यक्ष मन्यालले बताउँनुभयो ।


यसैगरी अपि हिमाल गाउँपालिकाले अपि स्वयंसेवक दस्ता गठन गर्ने अपि स्वयंसेवक नियमावली २०७४ पारित गरेको छ । गाउँपालिकामा हुने सामाजिक कार्यमा संग्लन गराउने गरी स्वयंसेवक दस्ता निर्माण गरिन लागेको अध्यक्ष मन्यालले बताउनुभयो । नगर प्रहरीको अवधारणा अन्तर्गत अपि स्वयंसेवक दस्ता गठन गर्ने बाटो खुला भएको छ ।

नियमावलीले गाउँपालिका भित्र पाँच तहको स्वयंसेवक रहने अवधारणा पारित गरेको छ । जसअनुसार प्रमुख स्वयंसेवक, बरिष्ठ स्वयंसेवक, सह स्वयंसेवक, उपस्वयंसेवक र स्वयसेवक नियुक्त गरिनेछ । जसमा हाललाई ५८ जनाको दरबन्दी सिर्जना गरिएको छ ।

गाउँ सभाले बहुमतका साथ पारित गरेको दुइ वटा ऐन र नियमावलीले अब केहि हदसम्म काम गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत जयसिह धामीले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!