जिल्ला अस्पतालमा ५ महिनादेखि शल्यक्रिया सेवा अवरुद्ध

Posted on: 18 Mar, 2018

चैत ४, कालिकोट |  जिल्ला अस्पतालमा ५ महिनादेखि अप्रेसन सेवा अवरुद्ध हुँदा विरामीहरु समस्यामा परेका छन् । शल्यक्रियका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभावका कारण सेवा प्रभावित बनेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ । अप्रेशन सेवा प्रभावित भएपछि सुत्केरी हुन नसकेका गर्भवती एपेन्डिसाइटीस, हर्निया, हाइड्रोसिल लगायतका बिरामीलाई शल्यक्रियाका लागि रिफर गर्ने गरिएको जिल्ला अस्पताल कालिकोटका निमित्त कार्यालय प्रमुख मो. ओजैर आलमले जानकारी दिए ।

अप्रेसनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सकको अभाव भएपछि अप्रेसन सेवा ५ महिनादेखि बन्द भएको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख मो. ओजैर आलमले बताए । अप्रेसन सेवा सञ्चालनका लागि एनेस्थेसियोलोजिस्ट चिकित्सक मंसिरदेखी अन्यत्र सरुवा भएर जिल्ला अस्पतालको अप्रेसन सेवा ठप्प भएको हो । जिल्लाको एक मात्र उप्रेसन सेवा सुरु गरेको जिल्ला अस्पतालमा कालिकोेटका ३ नगरपालिका र ६ गाउँपालिकाका बासिन्दा सेवा लिने गरेपछि विगत ५ महिनादेखि अप्रेसन सेवा सञ्चालन नभएकाले विरामी मर्कामा परेका छन् ।


जिल्ला अस्पताल कालिकोटमा २ जनाको दरवन्दी रहेपछि २०६१ सालदेखि मेडिकल सुपरिटेन्डेट नभएकाले मेडिकल अधिकृत डा. कौशल अलि र एनएस आइका डा. महेश्वर गोशाईको भरमा सञ्चालन भएको अप्रेसन सेवा डा. अलि विगत १ महिनादेखि टेकु अस्पतालमा काजमा सरुवा र डा. गोशाई सरुवा भएदेखि जिल्ला अस्पताल कालिकोटको अप्रेसन सेवा ठप्प भएको छ ।

जटिल प्रकारका रोगहरुको अप्रेसन गर्ने डाक्टर नहुँदा जिल्ला अस्पतालमा आउने विरामीले सास्ती खेप्नु परेको पोषण फोकल पर्सन कटक महतले बताए । उनले नेपाल सरकारले अहिले २ जना चिकित्सक डा. टंक आचार्य र नहकुल शाहीलाई करारमा खटाएकाले सामान्य विरामीको उपचार जिल्लामा नै हुने गरेको तर अप्रेसन जिल्लामा नहुने भएकाले सेवाग्राही मर्कामा परेको बताए । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुुर शाहीलाई भेटेरै जिल्ला अस्पताल कालिकोटको बारेमा आफुले पटक पटक जानकारी दिए पनि अहिलेसम्म सरोकारवाला निकाएको ध्यान जान नसकेको फोकल पर्सन महतले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!