रामेछापमा सौताको रिसले घरमा आगो लगाउँदा आफ्नै छोरा-छोरी जलेर मरे...

Posted on: 19 Mar, 2018

(सास) चैत ५, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाकी एक महिलाले सौताको रिसमा आफ्नै घरमा आगो लगाउँदा २ बालबालिकाको जलेर मृत्यु भएको छ । आफ्नै आमाले घरमा आगो लगाउँदा उनकै ४ बर्षिय छोरा बिपिन खत्री र २ बर्षकी छोरी रमिता खत्रीको जलेर घटना स्थलमा नै मृत्यु भएको हो । 

खाँडादेवी गाउपालिका ६ पन्ने  चौरकी दिलबहादुर खत्रीकी जेठी श्रीमती २५ वर्षिया तारा केसीले आइतबार राति श्रीमान र सौतेनीको रिसमा छोराछोरी सहित जलेर मर्ने भन्दै २ छोराछोरी सहित बस्दै आएको आफ्नो कटेरोमा आगो लगाएको केसीले प्रहरीलाइ प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार राती साढे १० बजे तिर छोराछोरी निदाएपछि उनले कटेरोमा आगो लगाउँदा तारा केसीको पनि लगाएका लुगा डढ्नुका साथै आगोले पोलेको छ । आगो लगाउने तारा केसी आफ्नो पतिले कान्छी पत्नी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी थिइन् । आगोले कटेज भित्र सुतिरहेका दुई बालबालिकाको डढेर मृत्यु हुनुको साथै कटेज भित्र राखिएको सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएका छन् । घटना पछि घटनास्थल पुगेको प्रहरीको टोलीले घटनामा संलग्न तारा केसी र उनका श्रीमान दिल बहादुर खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । 

आगोलागीमा परी मृत्युभएका २ बच्चाको शब सोमबार सदरमुकाम मन्थली ल्याइएर पोष्टमार्टम गरि जलाइएको छ । आगो लगाउने तारा केसी पति दिल बहादुर खत्री र उनकी कान्छी पत्नी बसेको स्थानभन्दा १ सय मिटर पर बाँसको टहरो बनाएर बसेकि थिइन् । थप अनुसन्धान बाकि रहेकाले मंगलबार मात्र पत्रकार सम्भेलन गरि उनीहरुलाइ सार्वजनिक गर्ने जानकारी दिएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!