ललितपुरमा ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा

Posted on: 26 Mar, 2018

चैत १२, ललितपुर | ललितपुर महानगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा छन् । 

कुनै पनि उद्योग सञ्चालन गर्दा दर्ता गरेर मात्रै शुरु गर्नुपर्ने व्यवस्था भएपनि पुस्तौँदेखि सञ्चालित पसल दर्ता नभएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताउनुभयो । दर्ता भएका पसलमध्ये पनि धेरैजसो नविकरण भएका छैनन् । 

दर्ता भएर व्यवसाय शुरु गर्दा पाइने सुविधाका बारेमा कतिपय व्यवसायीलाई जानकारी छैन । उहाँ भन्नुहुन्छ, “कतिपय व्यवसायीलाई जानकारी नै छैन, जानकारी भएकाहरुले वेवास्ता गरिरहेका छन् ।” व्यवसायीले दर्ता र नविकरण गर्न झन्झट मान्ने गरेका छन् । 

नगरका भित्रि भाग र महानगरपालिकामा अहिले गाभिएका साविक गाविस दुवैतिर दर्ता नभई सञ्चालन भएका मासु पसल धेरै रहेको प्रमुख साह बताउनुहुन्छ । 

पुस्तौँदेखि मासु बेच्दै आएका कतिपय व्यवसायी मासु पसल दर्ता गर्न आवश्यक ठान्दैनन् । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सुधार हुने उहाँको भनाइ छ । स्थानीय निकायले पूर्णरुपमा काम गर्न थाल्दा पसलको दर्ता बढ्न सक्छ । 

उहाँ भन्नुहुन्छ, “वडा कार्यालयमा सेवा शुरु भएमा दर्ता प्रक्रियामा आउन सक्छन् ।” उपमहानगरपालिका हुँदासम्म यहाँ झण्डै ३०० मासु पसल दर्ता थिए । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!