नुवाकोट: भैरवी रथयात्रा नेपाली सेनाको सहयोगमा गराइने

Posted on: 28 Mar, 2018

चैत १४, नुवाकोट | यहाँको प्रसिद्ध सिन्दूरेजात्राको अवसरमा आयोजना गरिने भैरवी मन्दिरको रथयात्रा यसवर्ष नेपाली सेनाको सहयोग लिइने भएको छ । 

रथ यात्राका लागि देवीघाटस्थित श्रीनाथ गणमार्फत ६० नेपाली सेनाको टोली जात्रापर्व शुरु हुने दिन(यही चैत १६) देखि१९ गतेसम्म परिचालन गर्न लागिएको हो । 

विदुर नगरपालिका–२ स्थित भैरवी मन्दिरका पूजारी एंव धामी हरिमानसिंह डंगोल (जीवित भगवान्) लगायतलाई हरेक वर्ष चैतशुक्ल पूर्णिमाको अवसरमा विदुर नपा–५ देवीघाटस्थित जालपादेवी मन्दिरसम्म भैरवी रथयात्रा गराइदै आएको छ । भैरवीदेवीको भगवान् सहितको रथयात्रा परम्परादेखि नै सूर्यगढी गाउँपालिका–१ लच्याङका तामाङ समुदायबाट हँुदै आए पनि उनीहरुले बोक्न अस्वीकार गरेपछि सेनामार्फत रथ बोक्ने निर्णय भएको नुवाकोट मौला अमालकाद्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । 

साविक लच्याङ गाविसको वडा नं २ र ९ बाहेक भैरवी गुठीको जग्गा उपभोग गर्दै आएका स्थानीय बासिन्दाबाट रथयात्रा गराइँदै आएकामा उक्त जग्गा रैकर हुनुपर्ने माग गर्दै उनीहरुले गएको वर्षदेखि रथ बोक्न इन्कार गर्न थालेका हुन् । 

गएको वर्ष अन्तिम समयमा रथ बोक्न नमानेपछि पहिलो पटक रथलाई सवारीसाधनमार्फत जात्रा गराइएको थियो । यो जात्रा मल्लकालीन समयदेखि नै चल्दै आएकामा नुवाकोटमाथि पृथ्वीनारायण शाहले विजय गरेपश्चात व्यवस्थित रुपमा मनाउन थालिएको पाइन्छ । यो वर्षको ‘भैरवी वर्षबन्ध’ गत फागुन २३ देखि यही चैत २७ गतेसम्म सञ्चालन हुने भए पनि रथयात्राको मुख्य रौनक चैत १६गतेदेखि÷१९ गतेसम्म चल्ने धामी हरिमानसिंह डंगोलले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!