दार्चुलामा विषु पर्वको तयारी तिव्र

Posted on: 10 Apr, 2018

चैत २७ दार्चुला | नयाँ वर्ष २०७५ को स्वागत गर्न अर्थात् विषु पर्व मनाउनका लागि गाउँघरमा तयारी तीव्र पारिएको छ । 

नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई विषु पर्वका रुपमा भव्यताका साथ मनाउने परम्परागत चलन रहँदै आएको छ । दार्चुला मात्र नभइ प्रदेश नं ७ का अन्य जिल्लामा समेत विषु पर्व प्रमुख चाडका रुपमा मनाउने गरिन्छ । 

विषु पर्व मनाउनका विदेश गएकाहरु अहिले घर फर्कन थालेका छन् । मुख्यतया रोजगारीको सिलसिलामा भारतको विभिन्न शहरमा गएकाहरु घर फर्कने क्रम बढेको छ । जिल्लाको खलंगा, दत्तु र जौलजीवी नाकाबाट दैनिक रुपमा रोजगारीको सिलसिलामा भारतको विभिन्न शहर गएकाहरु फर्कने क्रम जारी छ । ग्रामीण क्षेत्रमा विषु पर्वको तयारी तथा सामानको जोहो गर्ने चटारो चलिरहेको छ । विषुका लागि सामान खरिद गर्न सीमावर्ती बजारमा स्थानीयवासीको भीड लाग्ने गरेको छ । 

जिल्लाको मार्मा क्षेत्रको गुल्जरमा विषु जात्रासमेत लाग्ने गर्छ ।

 प्राचीनकालमा सञ्चार साधनको अभावमा परदेशीको रैवार घरसम्म नपुग्ने अवस्थामा वर्षमा एक पटक अनिवार्य रुपमा विषु पर्वमा घर पुग्नु पर्ने बाध्यता थियो । विषु पर्वमा राम्रो परिकार, परिहनका साथै रमाइलो गर्ने चलन छ । देवर भाउजू, नन्द भाउजू र साली भिनाजुबीच सिस्नु लगाउने चलन छ । खासगरी विषु पर्व विष पखाल्ने पर्वका रुपमा मनाइन्छ । 

बिहानै स्नान गरी सिस्नु लगाई विष पखाल्ने परम्परा रहेको स्थानीयवासी जयसिंह धामी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिस्नु लगाई नयाँ वर्ष मनाउने पुरानो चलन हो । अहिले विषु पर्वलाई विशेष भेटघाटका रुपमा लिने गरिन्छ ।” रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!