बाजुरामा रगत अभावमा एक सुत्केरी महिलाको ज्यान जोखिममा

Posted on: 13 Apr, 2018

चैत ३० बाजुरा | बाजुराको जगन्नाथ गाउँपालिका–१ ढाँडाकोटकी सुत्केरी २३ वर्षीया मरु विकको रगत अभावका कारण ज्यान जोखिममा रहेको छ । उहाँ सुत्केरी भएको १८ दिन भयो । बच्चा पाएको १३ दिनपछि लगातार रगत बग्न थालेको विकले बताउनुभयो । 

बच्चा पाउनका लागि जगन्नाथ स्वास्थ्य चौकी जाँदा बीचबाटोमै बच्चा पाएर घर गएकी हुँ । बच्चा पाएको १३ दिनपछि मात्र रगत बग्न थालेको विकको भनाइ छ । 

उहाँले घरमा दुई छोरा भएकाले छोरीको आशमा बच्चा एक स्वास्थ्य संस्थामा गएर गर्भपतन गरेको बताउनुभयो । सोही पछिको हाल जन्मेको शिशुपछि रक्तश्राव बढ्दै गएकाले शरीरमा चार प्वाइन्ट रगत भएकाले सुत्केरी आमाको ज्यान जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिनुभएको छ । 

सुत्केरीको शरीरबाट अत्यधिक रगत बगेपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको कुँवरले बताउनुभएको छ । 

सुत्केरी भएकी आमालाई ज्यान जोगाउनका लागि सात प्वाइन्ट रगत चाहिने डाक्टर विश्वकर्माको भनाइ छ । सुत्केरी विकको उचचारमा कार्यालय प्रमुख डा दुर्गा महर्जन संलग्न रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । 

सुत्केरीको ज्यान बचाउनका लागि जिल्लामा रहेका नेपाली सेना, नेपाल प्रहरीलाई समेत ‘बी’ पोजेटिभ रगत दिन आग्रह गरिएको छ । रगत बैंक नहुँदा जिल्लामा आएका रगत अभावका बिरामीले हैरानी खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । 

जिल्लामा रक्त सञ्चार केन्द्र नहुँदा रगतका लागि गुहार गर्नुपर्ने बाध्यता रहेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले रक्त सञ्चार केन्द्र स्थापना गरेको भए पनि रगत राख्ने उपकरण भने बिग्रिएकाले खरिद गरिएको बताइएको छ । 

रगत राख्ने मेसिन नै बिग्रिएकाले रगत जम्मा गरेर राख्न नमिल्ने एक रेडक्रसको ल्याबमा कार्यरत कर्मचारीले बताएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!