यातायात व्यवसायीले सार्वजनिक गर्यो चरणबद्ध आन्दोलनका कार्यक्रम

Posted on: 18 Apr, 2018

बैशाखं ५ काठमाडौं | सरकारले सिण्डिकेट अन्त्य गर्ने गरी गरेको निर्णयको विरोधमा यातायात व्यवसायीहरुले यातायात बन्द गर्नेसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

व्यवसायीहरुले राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले माग पुरा नगरे २७ गतेपछि सवारी साधन ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

घोषित आन्दोलनको कार्यक्रमअनुसार बैशाख ६ गते संयुक्त आन्दोलनको तयारी गर्ने, बैशाख ७ गते प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, बैशाख ८ गते सम्पूर्ण सार्वजनिक सवारी साधनहरुमा कालो झण्डा राख्ने, बैशाख ९ गते  यातायातसँग सम्बन्धित प्रमुख दलका नेताहरुलाई ज्ञापन पत्र बुझाउने तय भएको छ । 

यस्तै बैशाख १० र ११ गते  ७ ओटै प्रदेशमा कोणसभा गर्ने,  बैशाख १२ र १३ गते गाडी गुडाउने समय फ्रि छाड्ने,  बैशाख १४ र १५ गत सातै प्रदेशका सदरमुकाम र काठमाडौं उपत्यकामा सबै साधनहरु क्यु छाड्ने,  बैशाख १६ गते यातायात कार्यालयहरु घेराउ गर्ने  कार्यक्रम तय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जानकारी दिएको छ । 

यस्तै बैशाख १६ गते सबै यातायात कार्यालय घेराउ गर्ने, बैशाख २१ गते गाडीलाई ग्यारेजमा थन्क्याउने,  २२ गते संघर्षसमितिको बैठक बसेर थप निर्णय लिने तथा बैशाख २७ गतेबाट अर्को जानकारी नआएसम्म देशभरका सार्वजनिक सवारीका साधनहरु घर तथा ग्यारेजमा थन्क्याउने निर्णय भएको यातायात व्यवसायी महासंघले जानकारी दिएको छ। 

सरकारले सिन्डिकेट हटाएसँगै त्यसको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल पेट्रोलिमय ढुवानी महासंघ, ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलिम डिलर राष्ट्रिय एसोशियनले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका हुन् । 






यस बिषयमा तपाइको प्रतिक्रिया...!