बढी शुल्क लिने विद्यालयलाई कारबाही गरिने

Posted on: 18 Apr, 2018

वैशाख ५, काठमाडौँ (रासस) | सरकारले मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयलाई कारबाही गर्नुपर्ने आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । 

संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको ‘निजी विद्यालयको चर्को शुल्क वृद्धि र शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल’ विषयक अन्तक्र्रियामा सहभागीले तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयलाई कारबाही गर्नुपर्ने बताए । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले कानूनभन्दा माथि कोही नहुने भएकाले निजी विद्यालयले तोकिएभन्दा बढी शुल्क लिन नपाउने बताउनुभयो । उहाँले विद्यालयको शुल्कबारे मन्त्रालयले अनुगमन गर्ने भन्दै बढी लिए कानूनअनुसार कारबाही गर्ने बताउनुभयो । 

निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन)का अध्यक्ष विजय साम्वाहाम्फेले विद्यालयले मापदण्डअनुसार नै शुल्क लिएको भन्दै बढी लिने विद्यालयलाई कारबाही गरिने बताउनुभयो । उहाँले शुल्कबारे निजी विद्यालयमा पनि समस्या देखिएको भन्दै समय परिवर्तनअनुसार शुल्कको मापदण्ड परिमार्जन हुनुपर्ने धारणा राख्नुभयो । 

नेपाल निजी तथा आवासीय विद्यालय संगठन नेपाल (एन–प्याब्सन)का महासचिव सुवास न्यौपानेले विद्यालयले लिने शुल्कबारे नियमन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटाले अनियमित ढंगबाट लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग गर्नुभयो । 

अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले निजी विद्यालयले मापदण्डभन्दा बढी शुल्क लिएकाले फिर्ता गर्नुपर्ने बताउँदै तोकिएको मापदण्डभन्दा बढी लिने विद्यालयविरुद्ध आन्दोलन गरिने चेतावनी दिनुभयो । 

अनेरास्ववियूका उपाध्यक्ष महेश बर्तौलाले राज्यले निजी विद्यालयलाई नियमन गर्ने कानून बनाए पनि कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!