यार्सागुम्बा चोरी गर्ने सातजना पक्राउ

Posted on: 25 Apr, 2018

टेकबहादुर शाही | बैशाख १२, डोल्पा | हिमाली जिल्ला डोल्पामा बहुमुल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलनगर्न यार्सागुम्बा पाटन पुगेका सात जना पक्राउ परेका छन् ।

उनीहरुलाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोईजुम र निकुञ्जका कर्मचारी सहितको संयुक्त टोलीले निकुञ्जकोमुख्य क्षेत्रमा पर्ने कागमारा हिमालबाट राती १२ बजे पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा पाँच जना महिला दुई जना पुरुष रहेको शे– फोक्सुन्डो राष्ट्रिय निकुञ्ज डोल्पाले जनाएको छ ।

पक्राउ पर्नेमा जगदुल्ला गाँउपालिका वडा नं ४ छाँचुका ३० बर्षिया युवराज बुढा,मुड्केचुला गाँउपालिका ८ ओक्टका  १६ बर्षिया ओम बहादुर रोकाय,जुम्ला जिल्ला गोठिचौर गाँउपालिकाका वडा नं १ बस्ने ४६ बर्षिया सुर्य बस्नेत,सोही ठेगानाकै २४ बर्षिया चन्द्रलोक सिँह बस्नेत,सोही ठेगानाकै २४ बर्षिया युवराज बस्नेत,सोही ठेगानाकै बर्ष १८ की संगिता बस्नेत र सोही ठेगानाकै १८ बर्षिया पबित्रा बस्नेत रहेको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिनुभयो ।

उनिहरु अवैध रुपमा बहुमुल्य जडिबुटी यार्सागुम्बाको अवैध संकलनगर्ने अभिप्रायले गएपनि उनिहरुले यार्सागुम्बा टिप्न नपाएको चौधरीले बताए । निजहरुबाट लत्ता कपडा,पाल,चाउचाउ,कुटो लगाएतका बन्दोबस्तीका सामानहरु समेत बरामत गरिएको निकुञ्जले जनाएको छ ।

पक्राउ परेका दुईजना महिलाको स्वास्थ्य अवस्था कमजोर भएकाले निकुञ्जले दोषि ठहर गरेर बोलाएको खण्डमा उपस्थितहुने गरि प्रतिब्यक्ति दश हजार धरौटीमा छोडिएको समेत निकुञ्जका संरक्षण अधिकृत चौधरीले बताए ।

पक्राउ परेका बाँकी पाँच जनालाई निकुञ्जको कार्यालय सुलिगाडमा ल्याएर थुनामा राख्दै अनुसन्धान सुरु गरिएको समेत उहाँले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!