गोरखाको भिमसेन गाउँपालिका खान्चोकस्थित चामुण्डा प्राविमा कसले लगायो आगो ?

Posted on: 28 Apr, 2018

वैशाख १५, गोरखा | गोरखाको भिमसेन गाउँपालिका वडा नं ५ खान्चोकस्थित चामुण्डा प्राविको अस्थायी टहरोमा गएराति आगलागी भएको छ । भूकम्पपछि निर्माण गरिएको विद्यालयको उक्त भवनमा गएराति १२ बजे आगलागी भएको हो ।

घ्याम्पेशालस्थित प्रहरी चौकीका असई प्रेम बानियाँले विद्यालयमा आगलागी भएको खबर स्थानियले दिएपछि घटनास्थलमा पुगेर स्थानियको सहयोगमा आगो नियान्त्रणमा लिएको बताए । उनले कसले र किन आगो लगायो भन्ने नखुलेको बताए । ‘आगलागीबाट टहरो पूर्ण रुपमा ध्वस्त भएको छ ।’ असई बानियाँले भने, ‘हामी अनुसन्धानको क्रममा रहेका छौं ।’

यतिबेला भिमसेन गाउँपालिका केन्द्रको विवाद पनि उत्कर्षमा पुगेको छ । बगुवामा रहेको कार्यालय घ्याम्पेशाल सार्ने भनिएपछि विगत ७५ दिनदेखि साविकको बगुवा गाविसका स्थानियहरु आन्दोलित छन् । केन्द्रका प्रमुख ईश्वर पाण्डेले विवाद समाधान गर्ने भन्दै शुक्रबार खान्चोकस्थित चामुण्डा स्कूलको प्राङ्गणमा कार्यपालिकाको बैठक बोलाएका थिए । तर बैठक कार्यपालिकाको संख्या नपुगेपछि विना निष्कर्ष टुंगिएको थियो ।


यसअघि बगुवामा भएको बैठकमा गाउँपालिका प्रमुख पाण्डेले बगुवामा रहेको कार्यलय खान्चोक सार्न सहमत भएपछि कार्यपालिकाको बैठक बोलाएको बुझिएको छ । तर वडा नं ५ का वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले भने कार्यपालिकाको बैठक बस्नेबारे कुनै जानकारी नदिएका कारण बैठकमा आफू सहभागि हुन नपाएको बताएका छन् । ‘शुक्रबार म गोरखा सदरमुकाम जाने तयारीमा थिएँ । त्यति बेलासम्म बैठकबारे कुनै जानकारी थिएन् ।’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘मैले प्रमुख पाण्डेलाई फोन गरेर गोरखा जान लागेको जानकारी गराउँदा उहाँले आज बैठक भनेपछि बल्ल थाहा पाएँ । मेरो कार्यक्रम तय भइसकेकोले म गोरखा आएँ ।’

शुक्रबार बोलाइएको बैठकमा माओवादीका प्रतिनिधीहरु सहभागि नभएपछि कार्यपालिकाको बैठक बस्न सकेन् । बैठकमा माओवादी सहभागि नभएको, घ्याम्पेशालमा कार्यालय सार्न नपाएको रिसमा विद्यालयको टहरामो आगो लगाएको हुन सक्ने स्थानियहरुले आशांका गरेका छन् । स्मरणरहोस्, गाउँपालिकाका प्रमुख पाण्डेले बगुवामा रहेको केन्द्र कार्यपालिकाको निर्णय विना नै घ्याम्पेशालमा सारेका थिए । यसको बिरोधमा बगुवाबासी विगत ७५ दिनदेखि आन्दोलनमा उत्रिएका छन् ।

बगुवाको लामाचौरमा केन्द्र राख्न नमान्ने प्रमुख पाण्डे खान्चोकमा केन्द्र राख्ने विषयमा सहमत हुनु यसभित्र केही रहस्य लुकेको स्थानियहरु बताउँछन् । प्रमुख पाण्डे जसरी पनि गाउँपालिकाको केन्द्र घ्याम्पेशाल सार्ने मनस्थितीमा छन् ।  बगुवामा रहेको केन्द्र केही समय खान्चोकमा सारेर फेरी घ्याम्पेशालमा पुर्याउने दाउमा पाण्डे लागिपरेको स्रोत बताउँछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!