सिण्डिकेट विरुद्ध सरकार आक्रामक: सुर्खेतमा तीन कर्मचारी पक्राउ

Posted on: 04 May, 2018

वैशाख २१, सुर्खेत । सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै सुर्खेतमा लामो दुरीका सवारी ठप्प भएका छन् । प्रहरीले सुर्खेतमा दुई यातायात संघका ३ जना कर्मचारीलाई पक्राउ गरेको जनाएको छ । मध्यपश्चिम यातायात व्यवसायी संघका शेरबहादुर भण्डारी, धन बहादुर खत्री र  काँक्रेबिहार यातायात व्यवसायी संघका दिपेन्द्र श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

संघका अन्य पदाधिकारीहरु फरार रहेकाले खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनका अनुसार सुर्खेतमा सुर्खेत–बुलबुले र देउती नागरिक यातायात प्रा.लि.ले सुर्खेतदेखी दैलेख, नेपालगञ्ज, कालिकोट जिल्लाका लागि यातायात सञ्चालन गरेका छन् । उपत्यका भित्र भने सिद्धपाइला यातायात प्रा.लि. पनि सञ्चालनमा आएको एसपी चतुर्वेदीले जानकारी दिए ।

यता, राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित देशभरिबाट ७० जनाभन्दा बढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई अत्यावश्यक सेवा अवरोध गरेकोमा मुद्दा चलाउने तयारी भइरहेको छ । सरकारले देशभर रहेका सरकारी स्वामित्वका बसपार्कबाट यातायात समिति र संघका नाममा रहेका टिकट काउन्टरहरु हटाउने निर्णय गरेको छ ।

सरकारी निर्णयअनुसार देशभरका सबै बसपार्कबाट समिति र संघका टिकट काउन्टर हटाउन निर्देशन जारी भइसकेको यातायात व्यवस्था विभागका महानिर्देशक रुपमनारायण भट्टराईले बताए ।‘सरकारले सिन्डिकेट हटाउँदा असहयोगी बनेका यातायात समितिका काउन्ट हटाउन निर्देशन जारी भइसकेको छ,’ भट्टराईले भने, ‘अब सरकारी स्वामित्वमा रहेका देशभरका कुनैपनि बसपार्कमा समितिका टिकट काउन्टर रहने छैनन् ।’

सरकारी स्वामित्वमा रहेका बसपार्कमा कम्पनी ऐनअनुसार दर्ता भएका यातायात व्यवसायीले मात्रै आफ्नो टिकट काउन्टर राख्न पाउनेछन् । सरकारले गैरनाफामूलक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समितिलाई नवीकरण नगर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरु आन्दोलनमा छन् । घोषित आन्दोलनअन्तर्गत समिति र संघमा आवद्ध भएका यातायात व्यवसायीले शुक्रवार देशभर सेवा ठप्प पारेका छन् । सरकारले भने सेवा बन्द गर्ने यातायात व्यवसायी र समितिका पदाधिकारीलाई नियन्त्रणमा लिइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!