गगन थापाको भोजन दलितको चुलोमा, ईश्वरी परियार भण्डारीको दलानमा

Posted on: 05 May, 2018

प्रेम सुनार | वैशाख २२, गुल्मी | नेपाली कांग्रेस गुल्मीले बैशाख १ गते देखि सुरु गरेको ५० दिने महाअभियानलाई हामीले सुरुदेखि पछ्याई रहेका छौं ।  विशेष गरी अभियानका क्रममा सो पार्टीले सुरु गरेको चुनौती पुर्ण कार्य दलितको घरमा जे छ त्यही खाँदै अभियान सञ्चालन गर्ने नीतिलाई हामी बढि पछ्याई रहेका हौं ।

यहाँका नेता कार्यकर्ता देखि केन्द्रिय सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री गगन थापाले समेत गुल्मी आएर दलितको चुलो भित्र बसेर खान खाए ।  त्यसै झुपडीमा काठमाण्डौंमा भन्दा बढि मिठो निद्रा आफुलाई लागेको अभिव्यक्ति समेत दिए ।

तर सोही पार्टीबाट जिल्ला प्रतिनिधीका रुपमा गाउँ  खटिएका दलित समुदायका नेताहरु भने अहिलेसम्म कुनै एक जना व्राम्हण, क्षेत्रीको घरभित्र पसेर खान खाएको पाईएको छैन् । जिल्ला कमिटी सदस्य झविन्द्र सुनारलाई वलिथुमको वोटेमाझी गाउँमा खटाईयो, उनले त्यस समुदायसँग घुलमिल गरेर खाना खाएको बताउँछन् ।

मकै छर्ने मेलोमा जोतेर समेत उनले त्यस समुदायलाई सघाएको  र त्यहाँका वोटेमाझीहरुलाई सरकारले बनाउने भनेको जनता आवास कार्यक्रमको घर बनाउने भनेर पुराना घरहरु भत्काईएको र घर बनाउने कार्य अगाडी नबेढे पछि उनिहरु कष्टकर वसाई बसेको जानकारी दिए ।

त्यस्तै नेपाल दलित संघका जिल्ला अध्यक्ष लुमबहादुर सुनार ( मन्त्री) गुल्मी दरवार गाउँपालिका वडा नम्वर ५ अमरअर्वाथोक खटिए पनि कहाँ बस्ने भन्ने टुङ्गो अहिले सम्म नलागेको बताउँ छन् । ‘आते–जाते गरेको छु ’–उनले भने–‘ कहाँ बस्ने विषयमा छलफल हुँदै छ ।’  तपाई बिश्वकर्मा, अरु व्राम्हण क्षेत्रीहरु तपाईको घर भित्र पसेर खान खाए भने तपाई परियार जातीको घर भित्र पसरे खान हिम्मत गर्नु हुन्छ ? भन्ने प्रश्नमा उनले भने–‘ मैले त पहिलै देखि मेरो घरमा परियार जातिलाई भित्रै स–सम्मान राखेर खुवाउँदै छु उहाँहरुको घरमा नपस्ने त कुरै भएन् । ’

सो पार्टीका महाधिवेशन प्रतिनिधी ईश्वरी परियार रुरु गाउँपालिका वडा नम्वर ४ वम्घाको वोटे माझी गाउँमा खटिएका छन् । कहाँ बस्नु भएको छ ? भन्ने प्रश्नमा उनले भने हेमत्यागी भण्डारीको घरमा बसेको जवाफ दिए । भित्र कि वाहिर वसेर खाना खानु भएको छ ? भन्ने प्रश्नमा उनले भने–‘हेमत्यागी जि पनि वाहिरै आउनु हुन्छ र वाहिरै बसेर खाईएको छ ।’

जिल्लाका क्रियाशिल पत्रकार समेत रहेका हेमत्यागीसंग तपाई जस्तो ब्यक्तिले ईश्वरी जिलाई भित्रै लगेर खुवाउने हिम्मत गर्नु भएन ? भन्ने प्रश्नमा उनले हाँस्दै भने–‘ भित्र धुँवा हुने भएकोले वाहिर संगै बसेर खाईएको छ, अरु त्यस्तो केहि होईन् ।’

उता धुर्कोट– ७ को वाग्लामा नेता गगन थापासंगै पुगेका ईश्वरी परियार नेता विष्ट बस्ने बिश्वकर्मा नवसी अन्यत्रै बसेका थिए । सायद सिमित ब्यक्तिलाई  खान बस्नको ब्यवस्था गरिएकोले होला संगै पुगेका महासमिति सदस्य एवंं पुर्व जिल्ला  सभापति चन्द्र केसी पनि अन्यत्रै बसेका थिए ।

व्राम्हण क्षेत्री कांग्रेसजनहरु धमाधम दलितका घर भित्रै बस्दै खाँदै गरेको खवरले देशैभर चर्चा र प्रशंसा पाईरहँदा ईश्वरी परियार जस्ता दलित नेताहरु बाहिरै बसेर खाँदा नेता गगन थापा जस्ताको मानसिकता  र हाम्रो समाजका अगुवाहरुको मानसिकता आकाश जमिनको फरक रहेको स्पष्ट हुन्छ ।

एकछिन सोचमग्न हुनुस त यसै समाजमा गगगन थापा जस्ता दलितको चुलो भित्र आठो पिठो खाँदै छन भने ईश्वरी परियार जस्ता  दलितहरु वाहुन क्षेत्रीको दलान मै बसेर खान बाध्य छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!