रोल्पामा आगलागीबाट ४ परिवार घरवारविहीन, लाखौको क्षति

Posted on: 15 May, 2018

जेठ १ रोल्पा | रोल्पाका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट चार परिवार घरवारविहीन हुन पुगेका छन् । 

त्रिवेणी गाउँपालिका–४ जुगारमा आइतबार बेलुका भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका छन् । 

स्थानीय हरि परियारको गोठबाट सल्केको आगोले हरि परियार, रमेश परियार र नन्दबहादुर पुनको घर जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

सो आगलागीबाट रु १० लाख बढीको क्षति भएको बताइएको छ । 

प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको प्रहरीले बताएको छ । 

उता रोल्पा नगरपालिका–७ माडीचौरमा समेत एक घर आगलागी हुँदा रु १० लाख बढीको क्षति भएको थियो । स्थानीय वर्मता पुनको कच्ची घरमा भएको आगलागीबाट अन्न, लत्ताकपडा, काठपातसमेतको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । 

प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको बताइएको छ । 

फुसले छाएका घरको संख्या अधिक रहेकाले रोल्पामा हरेक वर्ष आगलागीका घटना हुँदै घरबारविहिन हुने क्रम बढेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!