बाँध निर्माण नहुँदा रौतहट डुब्ने खतरामा

Posted on: 23 May, 2018

उत्तमकुमार उपाध्याय गौर/जेठ ९, रौतहट | गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । 

सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो । बाढीले रौतहटको ८० प्रतिशत भूभाग पूर्ण रुपमा प्रभावित बनेको थाहा हुँदाहुँदै पनि ती भत्किएको बाँध अझै पनि निर्माण हुन सकेका छैनन् । 

सो नदी नियन्त्रण गर्न जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुर बाराको चरम लापरवाहीको कारण यसपालिको वर्षायाममा पनि सो क्षेत्र फेरि डुबानमा पर्ने खतरा बढेको स्थानीयवासी बताउने गर्छन् । 

बाढी आएको नौ महिना बितिसक्दा पनि सो कार्यालयले बाँध बाँध्न पहल नगरेको र अहिले आएर हतारमा काम लगाउन थालेको स्थानीयवासीको आरोप छ । 

बाढीले बढी प्रभावित बौधीमाई नगरपालिका क्षेत्रमा पर्ने सो नदीमा कार्यालयले अझै पनि बाँध निर्माणका लागि कुनै पहल नगरेको नगरपालिकाका नगर प्रमुख राजीवरञ्जन यादवले बताउनुभयो । अहिले बकैया नदीमा बाँध बाँधिएन भने फेरि मानवसहित ठूलो धनजनको क्षति हुने उहाँले आशंका गर्नुभएको छ । 

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई पटक पटक बाँध बाँध्नका लागि आफ्नो क्षेत्र आएर हेरिदिन र काम गरिदिन आग्रह गर्दा पनि सो कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवले बेवास्ता गरेको नगर प्रमुख यादवको आरोप छ । 

बकैया नदीले सो नगरपालिकाको इनरवा टोलबाट ठूलो भूभागमा बाँध कटान गरेर गाउँ पसेको थियो । उक्त बाँध फुटाएर पसेको बाढीले सो नगर क्षेत्रको इनरवा, पिपरिया, कोपुवा, वसन्तपटीलगायत आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेको थियो । नागरिकलाई डुबानबाट बचाउनका लागि छिटोभन्दा छिटो बाँध बाँधिदिन डिभिजन प्रमुख श्रीवास्तवलाई आग्रह गरिएको नगर प्रमुख यादवले बताउनुभयो । 

नगरसभाले नदी नियन्त्रणका लागि रु २० लाख मात्र छुटाएको तर सो क्षेत्रमा ठूलो रकम लाग्ने उहाँको भनाइ छ । 

जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुरका डिभिजन प्रमुख श्रीवास्तवले सो क्षेत्रको बाँध निर्माणका लागि रु पाँच करोड रकम आएको बताउनुभयो । नगरपालिकाबाट उपभोक्ता समिति गठन गरी काम गराउन डिभिजन प्रमुख श्रीवास्तवले आग्रह गर्नुभएको छ । 

यसैगरी देवाही गुनाही नगरपालिकाअन्तर्गत रहेको क्षेत्रमा भने बाँधको काम भर्खर शुरु भएको सो नगरपालिकाका नगर प्रमुख धमेन्द्र पटेलले जानकारी दिनुभयो । उक्त नगरका छ स्थानबाट बकैया नदीको बाँध फुटेर बाढी गाउँ पसेको थियो । 

नगर प्रमुख पटेलका अनुसार देवाही पुल, कर्कच, दोहरटोललगायत क्षेत्रमा बाँध कटान गरी बाढी गाउँमा पसेको थियो । “काम शुरु भएको छ, डिभिजन कार्यालयलाई असार मसान्तभित्र काम गुणात्मक रुपमा सम्पन्न गर्न हामीले आग्रह गरेका छौँ”, नगर प्रमुख पटेलले भन्नुभयो । पटेलले थप्नुभयो, “यदि गुणात्मक रुपमा काम सम्पन्न भएन भने नगरपालिकाका जति पनि भौतिक निमार्णका कामहरु भएका छन् ती सबै सखाप हुनेछ, तसर्थ बाँधको कामलाई तीव्रता दिन डिभिजन कार्यालयलाई अनुरोध गरेका छौँ ।” काम सम्पन्न भएन भने गत वर्षभन्दा बढी ठूलो धनजनको क्षति हुने नगर प्रमुख पटेलको जिकिर छ । 

बाढी पसेपछि सो नगरमा एक जनाको ज्यान गएको थियो । जिल्ला समन्वय समिति रौतहटका उपप्रमुख रामआशिष राय यादवले बाँधको काम गर्न ढिलो भएको बताउनुभयो । “यतिखेर बाँधको काम सक्नुपर्ने तर भर्खर शुरु भएको छ केही स्थानमा शुरु पनि भएको छैन, यो जटिल समस्या हा”, उपप्रमुख यादवले भन्नुभयो । उपप्रमुख यादव भन्नुहुन्छ, “काम शुरु नभएको ठाउँमा यथाशीघ्र काम शुरु गर्नुपर्छ, ठूलो जनशक्ति लगाएर भए पनि काम सम्पन्न गर्नाको कुनै विकल्प नै छैन ।” 

परोहा नगरपालिकाका प्रमुख शेख वकिलले रौतहटको पूर्व वाग्मती र पश्चिम लालबकैया खोलाको बाढीबाट वर्षेनी हुने धनजनको क्षति हुनबाट बचाउन अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । 

नेपाल नगरपालिका संघ प्रदेश नं २ को सभापतिसमेत रहनुभएका वकिलले नदी नियन्त्रण कार्यालयले बाँध बाँध्नका लागि कुनै किसिमको जिम्मेवारी बोध गराउन नसकेको आरोप लगाउनुभयो । बाँध निर्माण गर्न जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई आग्रह गर्दा पनि कुनै पहल नभएको उहाँको भनाइ छ । 

लालबकैया खोलाको पानीले सयौँ बिघा कृषियोग्य जमीन कटान र दर्जनौँ गाउँ डुबान हुँदै आइरहेकाले यसबाट बचाउन खोलामा वर्षायाम अगावै फुटेका बाँध मर्मत गरी सम्बन्धित नदी नियन्त्रण कार्यालयसँग खर्च भएको रकम शोधभर्ना गराउन पहल गर्ने गरी काम भइरहेको नगर प्रमुख वकिलले बताउनुभयो । 

डिभिजन कार्यालयले गर्नुपर्ने कार्य नगरपालिकाले गरेको हुनाले कार्यको अनुगमन गरी सम्बन्धित निकायले परोहा नगरपालिका–५ को तेजापाकड टोललगायत क्षेत्रमा लालबकैया खोलाले पुर्याउने क्षति न्यूनीकरणका लागि तटबन्धन गरी बोल्डर जाली र कृषियोग्य जमीन कटान न्यूनीकरणका लागि पहल भएको नगर प्रमुख वकिलले बताउनुभयो । 

सो नगर क्षेत्रका तेजापाकड र लौकाहाबाट फुटेको बाँधले सो क्षेत्र डुबानमा परेको थियो । 

उक्त नदीबाट आएको बाढीले देवाही गुनाही, बौधीमाई, राजपुर, फतुवा विजयपुर, मौलापुर, कटहरिया, इशनाथ र गौर नगरपालिका गरी आधा दर्जनभन्दा बढी नगरपालिकालाइ प्रभावित बनाउँदै आएको छ । गत साउन २७ देखि ३१ गतेसम्म बकैया नदी र वाग्मती नदीमा आएको बाढी बाँध फुटेर गाउँ पसेपछि रौतहट पूरै डुबानमा परेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!