हावा चल्दा सुर्खेतमा विद्युत अवरुद्ध

Posted on: 29 May, 2018

जेठ १५, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ठुलो पानी र हावा हुरी चल्दा विद्युत सेवा प्रायः बन्द हुने गरेको छ । विद्युत सेवा अवरुद्ध हुँदा बिजुलीबाट हुने काम अस्तव्यस्त र सेवाग्राहीलाई सास्ती हुने गरेको छ ।

३० वर्ष अघिदेखि सञ्चालनमा आएको कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइनको स्तरोन्नति नहुँदा समस्या आउने गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्राविधिहरुले बताउँदै आएका छन् । खडेरी मौसममा हावाहुरी र पानी पर्न सुरु भएपछि सुर्खेत आसपासका गाउँ र दैलेख जिल्लाको बिजुली प्रवाह नियमिति हुन सकेको छैन ।

दिगो विद्युत प्रसारण लाइन अभावमा ०४५ देखि नै यस क्षेत्रका नागरिकले सास्ती भोग्नु परेको छ । अव्यवस्थित र मापदण्ड विपरित विद्युत लाइन बिस्तार गर्दा सानो तिनो हावाहुरीले पनि पोलमा क्षति पुग्दा यस्तो समस्या आएको वितरण केन्द्र सुर्खेत बताउँछ । कोहलपुरदेखी सुर्खेतसम्मका विद्युत लाइनमा बाग्लो जंगलका कारण खडेरीमा रुख ढलेर र वर्षातमा पहिरोले विद्युत सेवा ठप्प हुने गरेको छ ।

प्रदेश ५ को कोहलपुरदेखि सुर्खेत प्रसारण लाइनमा चैत १५ देखि जेठ १५ सम्म मात्रै ७५ भन्दा बढी पोल ढलेका छन् । पोल ढलेर अवरुद्ध भएको विद्युत अझै मर्मत भएको छैन । पर्याप्त जनशक्ति र बजेट अभावले तदारुकताका साथ अवरुद्घ विद्युत सेवा सुरु गर्न कठिनाइ भएको नेपाल विद्युत प्राधिकरण सुर्खेत शाखाका प्रमुख सुरज भण्डारीले जानकारी दिए ।

विद्युत अवरुद्ध हुँदा व्यापार, व्यवसाय, बैकिङ सेवालगायत क्षेत्रमा सेवा प्रवाहमा असर पुगेको छ । सरकारले देशलाई लोडसेडिङमुक्त घोषणा गरे पनि सुर्खेत र दैलेखमा सानोतिनो हुरी चल्दा विद्युत अवरुद्ध हुनु लज्जाको विषय भएको स्थानीय बताउँछन् । मापदण्ड पूरा नगरी विद्युत प्रसारण लाइन विस्तार गरिएकाले सुर्खेत र दैलेखमा बारम्बार विद्युत लाइनमा समस्या आउने गरेको हो ।

मापदण्डअनुसार पोलको दायाँ–बायाँ कम्तीमा तीन तीन मिटर रूख हटाउनुपर्ने प्रावधान छ । तर, तत्कालिन राजा वीरेन्द्रको सुर्खेत सवारी हुँदा आवश्यक तयारी र व्यवस्थापन गर्नका लागि ६ महिनाभित्र हतार–हतार प्रसारण लाइन विस्तार गरिँदा अहिले समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही बताउँछन् । उनले देश प्रादेशिक संरचनामा रुपान्तरण भएकाले सुर्खेत–कोहलपुर विद्युत लाईनलाई ठूला पोलहरु निर्माण गरेर नियमित गर्नु पर्ने उल्लेख गरे ।

सडक निर्माणअघि नै विद्युत् प्रसारण लाइन विस्तार गरिएकाले मर्मत कार्यमा कठिनाइ भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख भण्डारी बताउँछन् । उनले कोहलपुर–सुर्खेत खण्डमा भने घना जंगलबाट विद्युत लाइन ल्याइएकाले मर्मतमा समस्या हुँदै आएको जानकारी दिए । ‘कुनै ठाउँमा विद्युत अवरुद्ध भए मर्मतका लागि घण्टौं पैदल हिँड्नुपर्ने, समस्या पहिचान गर्न गाह्रो हुँदा  मर्मतमा ढिलाइ हुने गरेको छ’ भण्डारीले भने, ‘जंगलमा कहाँ बिग्रियो पत्ता लगाउनै मुस्किल पर्छ । खोज्दै दिन वित्ने भएकाले विद्युत नियमित गर्न समस्या हुने गरेको छ ।’

३३ केभीए क्षमताका कारण यस खण्डमा पोलहरू पनि साना भएकै कारण रूखका स–साना हाँगो पोलमा लाग्दा बारम्बार क्षती पुग्ने गरेको छ । सरकारले कोहलपुरदेखि सुर्खेत प्रसारण लाइनको क्षमता विस्तारको प्रक्रिया अघि बढाएको चार वर्ष बितेको पनि हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन् । १३२ केभीए प्रसारण लाइनका लागि सुर्खेतको सुब्बाकुनामा स्टेसन निर्माण प्रक्रियासमेत सुरु भइसकेको छ । उक्त प्रसारण लाइनका लागि दुई कर्मचारी पनि खटिएका छन् । तर, कामको प्रगति शून्य छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!