शोकमा तानसेन बजार बन्द

Posted on: 03 Jun, 2018

जेठ २०, पाल्पा | रम्भा गाउँपालिकाको हुँमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको शोकमा आज तानसेन बजार बन्द भएको छ । 

मृतकको शोकमा तानसेनका उद्योग व्यवसायीले स्वतः पसल बन्द गरेका हुन् । गत शुक्रबार तानसेनदेखि रामपुरतर्फ जाँदै गरेको बस हुँमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए । 

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले दुर्घटनामा परी मृत्यु हुनेहरुको शोकमा तानसेनका उद्योग तथा व्यवसाय बन्द गरेको जानकारी दिनुभयो । सहकारीका अभियन्ता तथा पाल्पाका उद्योगी व्यवसायीको निधनले ठूलो क्षति पुगेको छ । 

तानसेनस्थित लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली अवलोकन भ्रमणका लागि रामपुरतर्फ जाँदैगर्दा उनीहरु सवार लु१ख ९७५ नंको बस हुँमिनको धारादीमा दुर्घटना भएको थियो । 

जिल्ला सहकारी संघका सचिव विष्णु बम्रेलका अनुसार सहकारीका अभियन्ताका निधनका कारण शोकमा जिल्लाभरका सहकारी बन्द रहेका छन् । 

डिभिजन सहकारी पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीसहित १४ जनाको निधनले सहकारी आन्दोलनलाई ठूलो क्षति पुगेको छ ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!