धादिङमा एकै कक्षाका २० विद्यार्थी एकाएक बिरामी

Posted on: 08 Jun, 2018

जेठ २५, धादिङ | दक्षिणी धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीस्थित बागेश्वरी मावि कक्षा ८ का २० विद्यार्थी एकै पटक बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । 

विद्यालयमा पढाइ शुरु भएपछि कक्षामा एकाएक बाहिरबाट आएको अनौठो धुवाँको गन्धसंँगै विद्यार्थी चिच्याएर कराउने र बेहोश हुने लक्षण देखिएको प्रधानाध्यापक राजन अधिकारीले बताउनुभयो । 

कक्षा ९ का दुई जनासमेत बिरामी भएकाले बैरेनीमा स्वास्थ्यचौकीमा उपचारपछि थप उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा १३ विद्यार्थीलाई भर्ना गरिएको छ । बाँकी स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएका छन् । बिरामीमध्ये एक छात्र र २१ छात्रा छन् । 

विद्यालयसँगै रहेको स्वास्थ्यचौकीले फोहोरजन्य वस्तु र म्याद नाघेका औषधि जलाएर नष्ट गर्दा निस्किएको धुवाँ विद्यालयमा गएको थियो । सोही समयमा विद्यार्थी एकाएक बेहोश भएर ढल्न थालेका थिए । धुवाँका कारण नभई अन्य कारणले विद्यार्थी बेहोश भएको स्वास्थ्यचौकीका इञ्चार्ज रामप्रसाद ज्ञवालीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!