हुम्लाको सिमिकोट-८ मा करेन्ट लाग्दा गोरुको मृत्यु, स्थानीयलाई खतरा

Posted on: 08 Jun, 2018

रेशमराज रोकाया | जेठ २५, हुम्ला | सिमिकोट गाउँपालिकाको वडा नं. ८ स्थित साँताको लिउरा खेत भन्ने स्थानमा करेण्ट लाग्दा स्थानिय भैर सिँहको गोरु मरेको खबर स्थानिय महेन्द्र रोकायाले जानकारी गराएका छन् । 

हिल्दुम जलविद्युत केन्द्रद्धारा वितरित विद्युतको पोलमा करेण्ट प्रवाह भएकोले सो घटना हुन गएको हो । हिजो बेलुका करिब ४ बजेतिर लागेको करेण्ट हालसम्म त्यस आसपासका क्षेत्रमा करेण्ट प्रवाह भईरहेको हुँदा त्यस क्षेत्रका वासिन्दालाई खतरा भएको समेत रोकायाले जानकारी गराउनु भयो । गोरुको पुरै जिउ विद्युत पोलमा अहिले पनि टाँसिएको अवस्थामा रहेको छ ।

हिल्दुम वितरण केन्द्रले हुम्लाको सिमिकोट र खार्पुनाथ गाउँपालिकाको १ हजार ७ सय ग्राहकलाई विद्युत सेवा दिँदै आईरहेको छ । बेला बेला मर्मत सम्भारको अभावले विद्युत कटौती गर्ने गरेको भएता पनि एक हप्ता अघिदेखि नियमित विद्युत आपुर्ती गर्दै आईरहेको वितरण केन्द्रका रहेको पोल बाँगिएका र मर्मत सम्भार नहुँदा वस्तुभाउलाई यसरी करेण्ट लाग्ने गरेको छ । यसअघि वितरण केन्द्रका पोलमा नै करेण्ट प्रवाह भई ३ वटा पशु चौपायको मृत्यु भईसकेको छ । वितरण केन्द्रका विद्युतका पोल हाल पनि बाँगा-टिँगा भएका र ढल्ने अवस्थाका रहेका छन् । विद्युतको लाईन कुनै ठाउँमा जमिनमा नै लत्रिएर रहेको अवस्थामा भएको हुँदा अझ बढी खतरा भएको स्थानियले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!