महोत्तरीमा पानीमा डुबेर किशोरीको मृत्यु

Posted on: 10 Jun, 2018

जेठ २७ , बर्दिवास | महोत्तरी जिल्लामा जताततै बालुवाढुङ्गा निकाल्न खनिएका खाल्डामा बर्षेनि मानवीय क्षति हुने गरेको छ । पछिल्लोपटक शनिबार बर्दिवास नगरपालिका–१० खयरमारामा एक १६ वर्षीया किशोरीको त्यस्तै खाल्डाको पानीमा डुबेर मृत्यु भएको छ । 

बर्दिवास–१० का हिरासिंह थिङ्की १६ वर्षीया छोरी सुषमा थिङ्को जेसिभी मेसिनले बालुवाढुङ्गा उत्खनन गरेको खाल्डोमा डुब्दा शनिबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । दिउँसो साथीहरुसँग गाईवस्तु चराउन गएकी सुषमा पानीले भरिएको खाल्डोमा पौडी खेल्न पस्दा डुबेकी हुन् । उनी डुब्नासाथ वरपर हल्लिखल्ली भएपछि परिवारजनले बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक वासुदेव थापाले बताउनुभयो । 

सुषमा बर्दिवास–१० स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । शवपरीक्षणका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय प्रहरीले जनाएको छ । 

यसअघि गत वर्ष जेठमै बर्दिवास–१३ बिजलपुरामा र २०७३ सालको असारमा बर्दिवास–९ पशुपतिनगरमा यस्तै खाल्डामा डुबेर एक÷एक जनाको मृत्यु भएको थियो । बर्षेनि खाल्डामा डुबेर मानवीय क्षति हुँदै आएपछि यस भेगका सर्वसाधारणले बालुवाढुङ्गा उत्खनन गर्ने काम ठाउँ छनोट गरेर मात्र गर्न र ठूलठूला खाल्डा बनेका ठाउँ पुर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!