गुल्मीमा अनुगमन समितिका अध्यक्ष नै डोजर सन्चालक भएपछि...

Posted on: 10 Jun, 2018

प्रेम सुनार/जेठ–२७, गुल्मी।  जिल्लाका कतिपय स्थानिय निकायका वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरु निर्माण व्यवसायको पृष्ठभुमीबाट आएका ब्यक्तिहरु छन् । यसमा जनताको निकै चासो र चिन्ताको विषय बनेको छ । पालिकाहरुलाई आएको कार्यविधी अनुसार  उपप्रमुख गाउँपालिकाको तर्फबाट अनुगम समितिको अध्यक्ष रहने र वडाध्यक्षहरु वडा स्तरको विकास निर्माणमा अनुगमन समितिको अध्यक्ष रहने ब्यवस्था छ ।

यसर्थ उ आफै  प्रत्यक्ष वा अप्रत्यक्ष डोजर सञ्चालक , उ आफै अनुगमन समितिको अध्यक्ष हुँदा कतै अनियमित्ता बढ्ने हो कि भन्ने आशंका स्थानियवासीले गर्नु स्वभाविक हुन आउँछ् ।  जिल्लाका विभिन्न स्थानमा बुझ्दा कतिपयमा यस्तो प्रवृद्धि देखा परेको पनि बताईएको छ ।

ईस्मा गाउँपालिका पनि यस्तै चिन्ता र चासो रहेको सर्वसाधरणहरु बताउँ छन् । तर गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट संग सम्पर्क राख्दा उनले यस विषयमा पालिकाले गम्भीर रुपले निगरानी बढाएको बताए । ‘हामीले त्यस्तो हुनै दिदैनौं , प्रत्यक्ष रुपमा हामीले त्यस्तो पाएका छैनौ’– उनले भने–‘ अप्रत्यक्ष रुपमा कुनै जनप्रतिनिधीहरु डोजर सञ्चालनमा संग्लग्न रहेको नरहेको कुरामा हामी थप निगरानी बढाउने छौं । ’

मालिका गाउँपालिका प्रमुख  रितबहादुर थापाले आफुले त्यस्तो प्रत्यक्ष रुपमा नदेखेको बताए । उनले भने–‘वडाहरुा  वाटो खन्द मिलेर डोजर चलाएको भए थाह भएन , यदि त्यस्तो पाईए कार्वाही गरिने छ । ’ रुरु गाउँपालिका प्रमुख नीलकण्ठ गौतमले एकाधा त्यस्तो पाईए पनि अनियमित्ता हुनबाट रोकेको बताए । उनले भने–‘ डोजर संग जोडिएका जनप्रतिनीधी हुँदै नभएका त न होलान तर हामी कहाँ त्यस्तो पाईएको छैन । ’

चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले एकाधा वडामा वडाध्यक्ष डोजर सञ्चालन कारोवार संग जोडिएको बताए । उनले आफुहरुले त्यस तर्फ निगरानी बढाएको  जानकारी दिए । सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले यो विषय आफुले भन्नु भन्दा पत्रकारहरुले आफै खोजेर सञ्चार माध्यममा ल्याई दिए धेरै राम्रो हुने बताए । उनले भने–‘ मैले यो वा त्यो जनप्रतिनिधी संग्लग्न छ भन्दा राम्रो हुँदैन तपाईहरुले नै खोजरे बाहिर ल्याई दिए राम्रो हुने थियो ।’

कालागीगण्डकी गाउँपालिकामा ठेक्का पट्टामा राजनैतिक दलको आडमा  दादागिरी नै चल्ने गरेको सर्वसाधरणले गुनासो गर्छन । छत्रकोट गाउँपालिका प्रमुख मधुकृष्ण पन्तले आफुकहाँ एक जना पनि जनप्रतिनिधीहरु डोजर र ठेक्का पट्टामा नभएको ठोकुवा गरे ।

यस विषयमा  त्यस गाउँपालिका प्रमुख वेदबहादुर थापा, गुल्मी दवरवारका अध्यक्ष अशोककुमार थापा र मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीको प्रतिकृया माग्न खोज्दा   सम्पर्क हुन सकेन । मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटाले त्यहाँका  ९ वटै वडाका जनप्रतिनिधीहरु डोजर सञ्चालनमा नजोडिएको दावी गरे । उनले भने–‘हामी त्यस्तो कतै केहि पाएका छैनौं , अप्रत्यक्ष रुपमा कोही  लागेको भए हामी त्यससलाई तुरुन्तै रोक्छौं । ’

 रेसुङ्गा नगरपालिका भित्र ३ वडामा प्रत्यक्ष रुपमा निर्माण ब्यवसायको क्षेत्रमा लागेको तिन वटा वडाध्यक्ष देखिन्छन् ।  वडा नम्वर –८ का  आध्यक्ष भरत भलामी, वडा नम्वर–७ का अध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्वर १२ का कुलबहादुर टण्डन पहिल्लै देखिका निर्माण ब्यवसायीहरु  हुन ।    टण्डनको भने आफ्नै डोजर छैन ठेक्का मात्रै लिन्छन्  । 

वडाध्यक्ष भलाी भन्छन्–‘आफ्नै वडामा डोजर चलाईएको छैन , अन्यत्र काम गरेर खान त पाउनु प¥यो नि । उनले स्पष्ट पार्दै थपे–‘ हो म त पहिल्लै देखिको निर्माण ब्यवसायी हुँ ।  हरेक ब्यवसायीलाई जस्तै  यो भन्दा अरु ठुला मेशिन हालुँ , अरु बढि कमाउँ जस्तो लाग्छ त्यस्तै मलाई पनि लाग्छ  । मैले जनप्रतिनिधीहरुको कुर्चिमा कहाँ गल्ती गरे त्यो मात्रै औलाई दिए पुग्छ । ७ का वडाध्यक्ष पाण्डेले आफुले आफ्नो वडामा कतै पनि दवाव दिएर आफ्नो डोजर नचलाएको बताए । सिस्न्यारको बाटोमा ५ लाख परेको हो, त्यसमा हरिकुमार श्रेष्ठको  मेशिन चल्यो ।   अर्को ७ लाखको बाटोमा पनि श्रेष्ठ र खडानन्द पाण्डेयले खनेका छन् । एउटा अर्जुन डाँडा तर्फको बाटोमा भने उपभोक्ता समितिले डोजर पाएनौ भनेर कर गरे पछि मेरो डोजर  चलाईएको हो । २२ लाख रकम मध्ये त्यसमा मैले ४ लाखको मात्रै डोजर चलाएको छु ,–उनले भने ।  

रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसालको यस विषयमा ध्यानकृष्ट गराउँदा उनले भने–‘ ओहो , कुरा त सहि उठाउनु भयो , मैले यस विषष्यामा ख्याल गरेको रहेन छु । उनले थपे–‘ हो त नि उहि वडाध्यक्ष अनि स्वतः वडामा उ आफै अनुगमन समितिका अध्यक्ष   र उ नै डोजर सञ्चालक छ भने त यसवारे ख्याल गर्नै प¥यो ,  अव गर्छु ।’

यस सम्वन्धमा जिल्ला समन्व्य समिति प्रमुख लक्ष्मण पराजुलीको ध्यानकृष्ट गराउँदा  यो विषय उठान गर्नु जायज भएको बताए । उनले भने –‘मैले पनि अनुगमनका क्रममा केहि स्थानिय तहमा त्यस्तो पाएँ, सम्झाएँ पनि तर पनि भित्र भित्रै जनप्रति संग्लग्न भएका डोजहरु चलेकै छन् । यसलाई मापदण्ड बनाएर रोकेर मात्रै हुँदैन निगरानी र चियो चर्चो समेत गर्न जरुरी छ नत्र आफै धामी आफै बोक्सी भने झै हुन सक्छ ।’

श्रोतको अनुसार डोजर सञ्चालक र ठेक्का पट्टामा संलग्नहरुलाई अहिले जनप्रतिनिधीहरु भई सके पछि काम पाउन निकै सजिलो भएको छ । आफ्नोमा उसको , उसकहाँ आफ्नो ।  ठेक्का पट्टाको सुचना आदान प्रदानमा पनि निकै सजिलो हुँदै गएको छ ।

 निर्माण ब्यवसायमा संग्लग्न धेरै जनप्रतिनीधीहरुको नाममा निर्माण ब्यवसाय कम्पनी अरु परिवारका सदस्यको नाममा छ । जिल्लाका कर्मचारीहरुका डोजर र गाडीहरु प्नि धमाधम सञ्चालन हुँदै आएका छन् । उनिहरुको पनि परिवारका सदस्यको नाममा छ ।

वडा नम्वर ७ का अध्यक्ष पाण्डेको निर्मण कम्पनी श्रीमतिको नाममा छ भने पहिल्लै देखि गर्दै आई रहेका ठुला निर्माण ब्यवसाीको सुचिम पर्ने रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसालको पनि छोराको नाममा छ ।  गत केहि वर्ष यता साविकको तिन प्रमुख राजनैतिक दल मध्ये केहिले एक गाउँकमिटी कम्तीमा पनि एक डोजरको आन्तरिक रुपमा योजनाबद्ध ढंगले लहर चलाएका थिए ।

त्यसमा जिम्मेवार नेता कम देखिने गरेका छन् । निर्माण ब्यवसायमा संग्लग्न कार्यकर्ता देखाउने , गोप्य रुपमा आफ्नो लगानी राख्ने गरेको पाईएको छ । जिम्मेवारी राजनैतिक दलका नेताहरु ने यसरी  बिकास निर्माण आफ्नो पोल्टामा पार्न तँछाड मछाड गर्ने हो भने आफै धामी आफै बोक्सी नहोला भन्न सकिन्न । यस प्रति सर्वसाधरण जनताले समेत निगरामी बढाउन जरुरी छ । डोजरको भाउ समेत आफु खुशी रहँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!