रौतहटमा नाबालकको अपहरणपछि हत्या

Posted on: 11 Jun, 2018

जेठ २८ रौतहट | अपहरणमा परेका एक नाबालकको शव आज विहान बागमती नदी किनारको बगरमा भेटिएको छ । रौतहटमा कटहरिया नगरपालिका–९ डुमरिया गाउँका स्वास्थ्यकर्मी अहेव दिलीप साहका १२ वर्षीय छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ । 

मृतकको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिका वडा ३ र ५ बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिसकेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिनुभयो । 

टाउकोमा चोट देखिएकाले लठी अथवा काठले टाउकोमा हानेर उनको हत्या हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरी निरीक्षक ओझाले बताउनुुभयो । 

अपहरण तथा हत्याको आरोपमा प्रहरीले पाँच जना स्थानीयलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताउनुभयो । 

पक्राउ परेकाको बयानको आधारमा नाबालकको शव बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानीले जानकारी गराउनुभयो । 

हत्याको कारण भने खुल्न नसकेको तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । 

शनिबार राति नाबालक युवराज साह खान पिन गरेर आफ्नै घरमा सुतिरहेका थिए । आइतबार बिहान ढिलै गरी उनका दाजु निरञ्जन साह मोबाइल खाज्दै भाइ सुतेको कोठाभित्र जाँदा मोबाइलसँगै युवराज बेपत्ता भएको चाल पाएका थिए । 

नाबालकका साथ सञ्चालनमा रहेको उक्त मोबाइलमा दुईवटा सिम रहेको थियो । मोवाइलमा नेपाल टेलिकमको ९८५५०२८३०६ र एनसेलको ९८१९२८७०० नम्बरको सिम रहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । 

घटनास्थल जिल्ला सदरमुकाम कटहरियाबाट झण्डै ३५ किलोमिटर उत्तर पश्चिममा पर्दछ । कटहरीया नगरपालिकामा अपहरणपछि हत्या भएको यो पहिलो घटना रहेको बताइएको छ । 

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!