श्रीमानको हत्या गरी ५ बर्षिय छोरी छाडेर श्रीमती फरार भएपछी...

Posted on: 14 Jun, 2018

जेठ ३१, ताप्लेजुङ | ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा गएराति धारिलो हतियार प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । अन्दाजी २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

हत्यापछि आफ्नी पाँच वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । मृतक बाबुसँगै रातभर रहेकी पाँच वर्षीया छोरी बिहान रोएको र चिच्याएको आवाज सुनेपछि छरछिमेकीले थाहा पाएका थिए । त्यसलगत्तै प्रहरीलाई घटनाबारे जानकारी भएको थियो । 

बिहान प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै फरार शर्मिलाको खोजी भइरहेको छ । घटना कसरी भयो भन्ने यकिन भइसकेको छैन । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!