सल्यानको कपुरकोट गाउँपालिकाले सवारी कर लगाउँदै

Posted on: 18 Jun, 2018

असार ४ सल्यान। सल्यानको कपुरकोट गाउँपालिकाले सवारी कर र निकासी कर लगाउने भएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष तथा राजस्व परामर्श समितीका संयोजक तिला बुढा मगरको अध्यक्षता र गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको विशेष उपस्थीतीमा बसेको बैठकले गाउँपालिकाले स्तरवृद्धि गरेका सडकमा सवारी कर लगाउने निर्णय गरेको हो ।


यस्तै गाउँपालिका क्षेत्रबाट निकासी हुने वस्तुमा पनि कर लगाउने भएको छ । कती कर लगाउने भन्ने कुरा गाउँसभाले टुंगो लगाउने सूचना अधिकारी जीवराज खत्रीले जानकारी दिएका छन्।

बैठकले आगामी आर्थिक वर्षमा आन्तरिक श्रोतबाट ३० लाख रुपैयाँ उठ्ने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा वडा कार्यालय र गाउँपालिका राजस्व शाखाबाट गरि जम्मा राजस्व रकम ११ लाख ७५ हजार रुपैयाँ उठेको शाखा प्रमुख विष्णु आार्यले जानकारी दिए ।


यस्तै सोमबार बसेको राजस्व परामर्स समितीको बैठकले आगामी आर्थिक वर्षमा गाउँपालिकामा लगाउने करको बारेमा थपघट र संशोधन गर्नुका साथै राजस्व संकलन र परिचालन निती बनाइ यसका लागी सुधार योजना समेत निर्माण गरेको समितीका सदस्य कमल घर्तीले जानकारी दिए ।

यसैविच आगामी असार १० गते गाउँसभामा निती, कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारीमा रहेको कपुरकोट गाउँपालिकाले वडाहरुमा बजेट सिलिङ पठाएको छ । समानिकरण अनुदान ७ करोड २१ लाख, चालू खर्च कटाइ बच्न आउने केन्द्रीय राजस्व बाँडफाड तर्फको एक करोड, प्रदेश समानिकरण अनुदान ४९ लाख ४१ हजार र आन्तरिक श्रोत ३० लाख गरि ९ करोड ४१ हजार मध्ये गाउँपालिकाबाट नीती, कार्यक्रम र योजना कार्यान्वयनका लागी आवश्यक बजेट व्यवस्था गरि साना योजना छनौटका लागी ६ वटै वडाहरुमा बजेटको सिलिङ पठाएको प्रमुख प्रशासकिय अधिकृत सुवास रिजालले बताए ।

जस अनुसार वडा नम्बर १ मा ३० लाख ७५ हजार, वडा नम्बर २ मा पनि ३० लाख ७५ हजार, वडा नम्बर ३ मा ३६ लाख ७५ हजार, वडा नम्बर ४ मा पनि ३६ लाख ७५ हजारको बजेट सिलिङ तोकिएको उनले बताए । यस्तै वडा नम्बर ५ मा ५६ लाख २५ हजार र वडा नम्बर ६ मा ४८ लाख ७५ हजारको दायरामा रहेर योजना छान्न निर्देशन गाउँपालिकाले दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!