म्याग्दीबाट फरार तीन अभियुक्त पक्राउ

Posted on: 24 Jun, 2018

असार  १०, म्याग्दी, | जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५ छापाका सुशील जिसी रहेका जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

प्रहरीले दिएको जानकारीअनुसार सवारी ज्यान मुद्दामा अदालतले एक वर्ष ११ महिना दुई दिन कैद सजाए तोकेको दमाईलाई बेनी नगरपालिका–७ बाट पक्राउ गरी कारागार चलान गरिएको छ । 

त्यसैगरी चोरी मुद्दामा चार वर्ष एक महिना १० दिन कैद सजाय तोकेको खत्रीलाई बेनपा–६ छापाबाट पक्राउ गरी अदालतको आदेशानुसार कारागार चलान गरिएको छ भने सोही मुद्दाका अर्का अभियुक्त सुशील जिसीलाई शनिबार निजको घरबाट नै पक्राउ गरी आज अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!