कपुरकोटको गाउँसभामा २३ करोड ४१ लाखको बजेट प्रस्तुत

Posted on: 24 Jun, 2018

शंकर के सी/असार १०, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले भौतीक पूर्वाधार, कृषि तथा विद्युतीकरणलाइ प्राथमिकतामा राखेर निती, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँसमामा प्रस्तुत भएको आर्थिक वर्ष २०७५÷०७६ को नीति, कार्यक्रम तथा बजेटमा ५ वर्षमा सबै वडा कार्यालयसम्म पक्की मोटरबाटो पुर्याइने तथा जताततै बाटोको ट्रयाक खोली वातावरण विनास गर्ने कार्यलाई निरुत्साहित गरिने उल्लेख गरिएको छ । 


नीती, कार्यक्रम र बजेट भाषण गर्दै गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रम तथा बजेट तर्जूमा समितिका संयोजक तिला बुढा मगरले २३ करोड ४१ लाख ९८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन् । 

जसमा राजश्व बाँडफाँडबाट चालु खर्च तर्फ रु ४ करोड ४६ लाख २४ हजार, पुँजीगत खर्च तर्फ १० करोड ५४ लाख ७४ हजार र सशर्त (शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला विकास, उर्जा र खेलकुद) शिर्षकमा रु ८ करोड ४१ लाख रहेको छ । गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको गाउँसभामा उनले गाउँपालिकाभित्र १५ शैयाको अस्पताल स्थापना गर्न १२ रोपनी जग्गा व्यवस्था गरिने उल्लेख गरिन् ।


यस्तै गाउँपालिकालाई सन् २०२१ भित्र पुर्ण सरसफाईयुक्त गाउँपालिका घोषणाका लागि बेमौसमी तरकारी खेतिले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा र हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’  भन्ने मुल नाराका साथ विभिन्न अभियानहरु संचालन गरिने छ । 

जेष्ठ नागरिक सम्मानलाई निरन्तरता दिदै जेष्ठ नागरिकलाइ मनोरञ्जन तथा भजनकृतन स्थल निर्माण गरिने र सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने तथा बैंकसम्म जान नसक्नेलाइ घरमै पुगेर भत्ता दिने व्यवस्था मिलाइने कुरा नीती र कार्यक्रममा समावेश गरिएको छ । 


उपाध्यक्ष बुढाले युवाहरुमा सिपको विकास गरी उद्यम गर्न र स्वदेशमै आफ्नै उत्पादनमा रमाउने वातावरण बनाउन ‘युवासंग गाउँपालिका कार्यक्रम’ लिइएको उल्लेख गरिन् । यस्तै गाउँपालिका अध्यक्ष कप आयोजना गर्ने देखि किसानलाइ प्रोत्साहन गर्ने कार्यक्रम पनि ल्याइएको छ । जसका लागी अनवरत रुपमा खेतीमा लागेर सबैको जीवन पाल्ने कृषकहरुलाइ सम्मान र प्रोत्साहन गर्न ‘समृद्धिको शान, हाम्रा किसान’  र  ‘किसानसँग प्राविधिक’ भन्ने कार्यक्रम लिइएको छ । 

त्यस्तै ‘चेलिबेटि उद्यम’ तथा ‘दिदिवहिनीसंग उपाध्यक्ष’ कार्यक्रम, ‘हाम्रो जीवनमा राम्रो शिक्षा’ र खानपान र पोषण जस्ता कार्यमा विशेष ख्याल गर्न ‘स्वस्थ शरीर, सुखि जीवन’ कार्यक्रम सञ्चालन गर्ने कपुरकोटको निती र कार्यक्रममा समावेश गरिएको छ । यस्तै लोक कला संस्कृतीको संरक्षण गर्ने तथा आन्तरिक आय बढाउन एकिकृत सम्पत्ती कर लागु गर्नेजस्ता कार्यक्रम रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!