रसुवाका २ सय ६५ घरपरिवारलाई राहत वितरण

Posted on: 26 Jun, 2018

असार १२, रसुवा | नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत जीविको पार्जनका लागि रकम प्रदान गरेको छ । 

रेडक्रस जिल्ला सभापति बाबुलाल तामाङका अनुसार कालिका गाउँपालिकाअन्तर्गत वडा नं २ को ९७ घरपरिवारलाई प्रतिपरिवार रु ४० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो । 

यसैगरी उत्तरगया गाउँपालिका वडा नं ३ ठूलोगाउँमा भूकम्प प्रतिकार्यअन्तर्गत छनोट भएका १७१ घरपरिवारमध्ये पहिलो चरणमा १६८ परिवारलाई प्रति घरपरिवार रु १५ हजारका दरले वितरण गरिएको छ । उनीहरुलाई दोस्रोपटक रु २५ हजार भुक्तानी गरी प्रतिपरिवार रु ४० हजार प्रदान गरिने र छनोट भएका सबैलाई क्रमिकरुपले रकम प्रदान गरिने रेडक्रसले जनाएको छ । 

प्रदान गरिएको रकमबाट भूकम्प प्रभावित परिवारले आफू खुशी बाख्रा, कुखुरापालन वा तरकारीखेतीमा लगानी गरी आयआर्जनबाट आत्मनिर्भरतर्फ उन्मुख हुनुपर्ने बताइएको छ । 

जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने पवित्र मूल नारालाई सिरोपर गर्दै रेडक्रस अगाडि बढिरहेको र भूकम्पकै असरले शारीरिक अपाङ्गता भएकी उत्तरगया गापा–३ ठूलोगाउँ निवासी सपना गुरुङको जीवन निर्वाह सहज बनाउन रु तीन लाखको लागतमा एक अपाङ्गमैत्री शौचालय र शौचालय जाने बाटोसमेत निर्माण गरिएको छ । 

रसुवा जिल्लाको दक्षिण पश्चिम भूभागमा पर्ने ठूलोगाउँ क्षेत्रमा ४५५ घरपरिवारलाई भूकम्पपछिको आवास निर्माण गर्ने जिम्मा पाएको रेडक्रसले हालसम्म ३२० घर निर्माण सम्पन्न गरिसकेको र बाँकी घरको निर्माण कार्य धमाधम अगाडि बढाइरहेको उत्तरगया गापाले जनाएको छ । 

रेडक्रसले गरेका काम गुणस्तरको भएको र खर्चका विवरण पनि समयसापेक्ष पारदर्शी हुँदै आएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!