तनहुँमा रुखले च्यापेर एकको मृत्यु, दुई गम्भीर घाइते

Posted on: 03 Jul, 2018

असार १९, तनहुँ | व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिनिसाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार हुँदाहँुदै मृत्यु भएको हो । घाइते हुनेमा थापाकै छोरीहरु १२ वर्षीया अस्मिता र आठ वर्षीया सोनिसा छन् । 

उनीहरुलाई सोही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोे प्रहरीले जनाएको छ । माहेन्द्री मार्गमा पर्ने रातमाटामाथिको सालको रुख ढलेर च्यापिँदा ती बालिका घाइते भएका हुन् । 

सिसाघाटस्थित न्यू कालिका एकेडेमी बोर्डिङमा पढ्दै गरेका ती बालिका विद्यालय जाँदै गर्दा रुख ढलेर च्यापिएको जिल्ला प्रहरी कार्यालयबाट घटनास्थल पुग्नुभएका प्रहरी हवल्दार चन्द्रबहादुर रानाले बताउनुभयो । वर्षाका कारण जमीन गलेकाले रुख ढलेर ती बालिकामाथि बज्रिएको बताइएको छ । 

खोलाले बगाएर मृत्यु 

शुक्लागण्डकी नगरपालिका– ११ स्थित क्याङ्दी खोलाले सोमबार साँझ बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । 

मृत्यु हुनेमा शुक्लागण्डकी– ११ का ५१ वर्षीय नीलबहादुर गुरुङ रहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक श्रवणकुमार विकले बताउनुभयो । खोलाले बगाएर गम्भीर घाइते भएका गुरुङलाई फूलबारी अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । बेपत्ता हुनेमा भिमाद नपा– ८ का ५७ वर्षीय यमबहादुर कुमाल रहेको जानकारी प्रहरी निरीक्षक विकले दिनुभयो । 

बढेर आएको उक्त खोला तर्ने क्रममा दुवैलाई बगाएको थियो । गुरुङको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र बेपत्ता भएका कुमालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!