सिन्धुपाल्चोकको चौतारामा साहित्य सम्मेलन

Posted on: 03 Jul, 2018

असार १९, चौतारा | सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजना गरिएको छ । 

सिन्धु साहित्य सम्मेलन, २०७५ एवं प्रदेश नं ३ स्तरीय कविता प्रतियोगितामा उक्त जिल्लाका साथै काभ्रेपलाल्चोक, काठमाडौँ, दोलखा, रामेछाप तथा सिन्धुलीका ४८ कविको कविता प्राप्त भएकामा उत्कृष्ट १० कविको कविता छनोट गरिएको थियो । 

कर्मचारी मिलन केन्द्र र सिन्धु साहित्य अभिलेखालयको संयुक्त आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने कविलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । 

प्रतियोगितामा सिन्धुकी रोजिना पराजुली, रामेछापकी शीतल थोकर तामाङ, सिन्धुलीका नवीन संघर्ष र काभे्रकी अनामिका सजल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका थिए । विजयी कवि तथा कवयित्रीलाई नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकले पुरस्कार प्रदान गर्नुभयो । 

कार्यक्रममा नेपाली शष्दकोषका ग्रन्थकार कवि वसन्तप्रकाश नेपाल शर्मालाई अभिनन्दन तथा स्व कवि खिलबहादुर भावुक, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने र कवि जीवन क्षेष्ठलाई सम्मान गरिएको थियो ।सो अवसरमा अभिलेखालयले ११० वर्षदेखिको अभिलेखालयको वृत्तभित्र प्रस्तुत गरेको थियो । 

सिन्धुका साहित्यकार र अन्य जिल्लाका साहित्यकारबीच एकापसमा विचारको आदानप्रदान गर्नाका साथै यहाँको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस प्रकारको सम्मेलनको आयोजना गरिएको आयोजक कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवं साहित्यकार लक्ष्मीप्रसाद निरौलाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!