भेरी अञ्चल अस्पतालमा सर्पदंशबाट यो बर्ष अहिलेसम्म नौजनाको मृत्यु

Posted on: 05 Jul, 2018

असार २१, नेपालगञ्ज | नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । 

सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो वर्षको अहिलेसम्म बढेर नौ पुगेको अस्पतालले जनाएको छ । वर्षा शुरु भएयता दैनिक ८÷१० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका निमित्त प्रमुख डा कृष्णप्रसाद आचार्यले बताउनुभयो । 

ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ । सो अस्पतालमा प्रदेश ५ को बाँके, बर्दिया, दाङ, पश्चिम रुकुम र प्यूठानका साथै कर्णाली प्रदेश र प्रदेश नं ७ बाट समेत सर्पदंश भएका उपचारका लागि आउने गरेका छन् । 

अस्पतालले सर्पदंशको उपचारमा प्रयोग हुने ‘एन्टिभेनम’ औषधि निःशुल्क उपलब्ध गराउँदै आएको अस्पताल प्रमुख डा आचार्यले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!