श्रीमान्द्वारा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

Posted on: 05 Jul, 2018

असार २१, कैलाली । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षीय इन्द्रबहादुर चौधरीले ३२ वर्षीया श्रीमती गरीबी चौधरीलाई आज धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोग लगाइएको छ । 

मदिरा सेवन गरेका श्रीमान् र श्रीमतीबीच सामान्य विवादमा कुटपिट भएपछि हत्या गरिएको सोधपुछका क्रममा चौधरीले प्रहरीलाई बताएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो । 

इन्द्रबहादुरले काठको लट्ठी प्रयोग गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा भने धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ । 

मृतकको टाउको र शरीरका विभिन्न भागमा घाउचोट र नीलडाम देखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धानका लागि अभियुक्त चौधरीलाई लम्कीचुहा नगरपालिका प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको तथा शव परीक्षणका लागि टीकापुर अस्पताल लगिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!